नेता/कार्यकर्तालाई लिङ्देनको निर्देशनः भ्रष्टाचार गरेर कमाउने सोच भए पार्टी छाड्नुस्


काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सुशासनको पक्षधर र भ्रष्टाचारको विरोधी पार्टी बनिसकेको बताएका छन् । आज (बुधबार) आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा अब नेपालको नम्बर वान भ्रष्टाचार विरोधी पार्टी बन्ने बताएका हुन् । उनले आफू भ्रष्टाचारको विरुद्धमा जोसँग पनि र जहाँ पनि लड्न तयार रहेको बताए ।

‘जबसम्म यो देशमा भ्रष्टाचारको अन्त्य हुँदैन तबसम्म मैले भनिराख्छु र लडिराख्छु । म भ्रष्टाचारको विरुद्ध भित्र, बाहिर जोसँग लड्नुपरे पनि त्यहीसँग लड्छु । भ्रष्टाचारको अन्त्य नगरेसम्म मेरो यात्रा रोकिँदैन । मैले पहिला पनि भनेको छु, हाम्रो पार्टीभित्र कोही साथीहरु आउँदाखेरी अरु थुप्रै उद्देश्य राखेर आउनुस् । तर, अरु पार्टीमा जस्तै यो पार्टीमा लागेर पद पाइन्छ, पद पाएपछि अरु पार्टीको नेताले कमाएजस्तै कमाउन सकिन्छ भनेर राजनीतिमा लागेर, राप्रपामा लागेर कमाउन पाइन्छ भन्ने हो भने आजैबाट फर्किनुस्,’– उनले भने ।

उनले आफ्नो पार्टीमा भ्रष्टाचारीहरुलाई कुनै पनि रुपमा ओत नहुने र नक्कली कुरा गरेर कोही पनि संरक्षित नहुने उनले बताए । उनले भ्रष्टाचारको मामलामा मेरो, अर्काको, नजिकको, टाढाको केही पनि नहेरिने उनले बताए । अवसर पाएमा भ्रष्टाचार गरौंला र कमाउँला भनेर पार्टीमा कोही बसेको भए आजकै मितिबाट बाटो लाग्न उनले सुझाए ।

‘यो पार्टीभित्रै कोही पहिलादेखि नै बस्नुभएको छ । यो पार्टीमा कुनैदिन अवसर पाएर कमाउनुभएको थियो र फेरि पनि कमाउन पाइन्छ भनेर बस्नुभएको छ भने त्यस्तोले पनि बाटो रोजे हुन्छ । भ्रष्टाचारीहरुलाई कुनै पनि तरिकाले, कुनै पनि रुपमा यो पार्टीमा ओत रहने छैन,’– उनले भने ।

भ्रष्टाचार जसले, जहिले र जति गरेको भए पनि दण्डित हुनुपर्ने उनले बताए । सबैभन्दा ठूलो भ्रष्टाचार नेताहरुले गर्ने बताउँदै उनले २०४६ सालपछि राज्यको माथिल्लो ओहदामा पुगेका जोकोही पनि पनि सम्पत्ति छानविन हुनुपर्ने बताए । उनले आफू पनि केही देखि यो देशको उपप्रधानमन्त्री बनेको बताउँदै सबैभन्दा पहिला आफ्नो सम्पत्ति छानविन गर्न माग गरे ।File Photo/RN