काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव कुमार नेपालको सन्दर्भमा टड्कारो रुपमा संवैधानिक र नैतिक प्रश्न उठेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रश्न उठिसकेपछि अध्यक्ष नेपालविरुद्ध कानूनी र नैतिक प्रश्न उठेको बताएकी हुन् ।
‘समस्या आयो पार्टीमा । हिजो पनि केही समस्या त थिए । तर, आज झन टड्कारो रुपले आयो । खासगरी अध्यक्षमाथि मुद्दा लाग्यो, त्यसपछि पनि आयो । कानूनी प्रश्न पनि भए, केही संवैधानिक प्रश्न पनि भए, केही सामाजिक मर्यादा, नैतिकताको प्रश्न पनि भए,’– उनले भनिन् ।
साथै, उनले एकीकृत समाजवादी ‘वान म्यान लिडरसीप’ मा चलेको बताईन् । उनले पार्टी अध्यक्ष पनि सार्वजनिक पद भएको बताउँदै प्रश्न उठेपछि पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताईन् । ‘हामीले अघिल्लो महाधिवेशन जसरी गरेका थियौं, महाधिवेशनदेखि यता लगभग ‘वान म्यान लिडरसीप’ जस्तोगरी पार्टी चलेको छ नि त हाम्रो । त्यो कारणले गर्दा अध्यक्षको सन्दर्भमा केही कानूनी प्रश्नहरु उठिसकेपछि केही संकट आएको छ । अध्यक्षज्यू मुद्दा चल्नेबित्तिकै सार्वजनिक पदबाट त स्वतः निलम्बन हुनुभयो । अख्तियारको कानूनले दललाई पनि सार्वजनिक पद नै मान्छ । पार्टी अध्यक्षको कुरा के हुन्छ भन्ने अनुत्तरित नै छन् । समस्या आएको छ । यसको समाधान कसरी हुन्छ ?’ प्रश्न गर्दै उनले भनिन् ।
साथै, ‘मैले गरेको काम कानूनसम्मत छ, नीतिगत हो र म यसको प्रमाणित गर्छु’ भन्ने ल्याकत माधव नेपालले राख्नुपर्ने उनको भनाइ छ । उनले आफू भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा र महिलामाथिको दुव्र्यवहारको विरुद्धमा बोल्दै जाने बताईन् । उनले आफूले बेथितिको विरुद्धमा बोल्दा कारबाही हुन्छ भने भोग्न तयार रहेको बताईन् ।




प्रतिक्रिया