काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई पार्टीले स्पष्टीकरण सोधको पत्र अहिलेसम्म नपाएको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई स्पष्टीकरण सोधिएको कुरा मिडियाबाट मात्रै थाहा पाएको बताएकी हुन् । उनले आफूलाई कुनै अधिकारिक पत्र नआएको बताउँदै सबैतिर स्पष्टीकरणको चर्चा भएकाले पार्टी सचिव सोमप्रसाद पाण्डेलाई फोन गरेर सोधेको बताईन् ।
‘बिहान उठेर मैले रेडियोहरु सुन्दाखेरी मेन समाचार सबैले त्यही बजाएको भएर मैले कमरेड सोम पाण्डेलाई फोन गरेर मेरो हातमा आएको छैन । मलाई त दिनु भएको छैन । रुखमा टाँस्नु भयो कि ? चौतारोमा टास्नु भयो कि ? नजिकको प्रहरी कार्यालयमा जानुभयो कि ? मेरो कोही आफन्तलाई बुझाइदिनुभयो कि ? अथवा मलाई फरार अभियुक्त भनेर तपाईँहरुले फरमान जारी गर्नुभयो कि ? के हो ? कुरा भनेर मैले उहाँलाई सोधेको थिए,’– उनले भनिन् ।
पाण्डेले आफूले पनि अनुशासन आयोगले स्पष्टीकरण सोधेको भनेर सुनेको जानकारी गराएको नेतृ झाँक्रीले बताईन् । नेतृ झाँक्रीले अध्यक्ष माधव कुमार नेपालविरुद्ध लागेको भ्रष्टाचार मुद्दामा व्यक्तिगत रुपमा आफ्नो सहानुभूति रहेको बताईन् । अध्यक्ष नेपालको जिउमा किर्ना जसरी टाँसिएका केही व्यक्तिहरुले अहिले रामकुमारी झर्सेस माधव नेपाल बनाएर विषयलाई उठाइरहेको उनको आरोप छ ।
‘माधव नेपालको जिउमा किर्नाजस्तै टाँसिएर, उहाँलाई दोहन गरेर खाइरहेका छन्, तिनी मान्छेले आज अझै पनि अध्यक्षलाई खुइल्याउने, दोहन गर्ने ठाउँमा छन् । उहाँको शक्ति र सामथ्र्यको दोहन गरेर जसले लाभ लिए, किर्नाजस्तै मोटाए, ढाडिएकाहरु खसेर गए । नढाडिएकाहरु आज पनि पार्टी अध्यक्षको जिउमा छन् । माधव कमरेडको यो त २०६६ सालको प्रकरण हो ।’ उनले भनिन्, ‘उहाँ प्रधानमन्त्री भएको बेलामा । त्यतिबेला उहाँको जिउमा टाँसिएका किर्नाहरु ढाडिर भुइँमा झरे । अब नयाँ किर्नाहरु टाँसिएका छन् । ती किर्नाहरु माधव कमरेडलाई सिरानी हालेर, खुइल्याएर, उहाँबाट रगत आउन्जेलसम्म चुसेर आफू ढिडिर झर्नका लागि मैले बोलेको कुरालाई अतिरञ्जनापूर्ण बनाएर माधव कमरेड भर्सेस म बनाइरहेको छन् ।’




प्रतिक्रिया