हामी सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिनेछौं : रञ्जिता श्रेष्ठ


काठमाडौं, २० असार । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेकी छिन् । आफ्नो दल अब प्रतिपक्षमा बस्नेसमेत उनको भनाई छ । उनले आफ्नो दलको प्रतिनिधित्व चार वटा प्रदेशमा रहेको भन्दै कसैको अपमान सहेर अब सरकारमा नबस्ने पनि चेतावनी दिएकी छिन् ।

उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीका मन्त्रीलाई कुनै औपचारिक संवाद, कारण वा प्रक्रिया विना हटाइएकोमा आक्रोश पोखेकी छिन् । उनले आफ्नो मन्त्री हटाईएको विषय केवल असंवैधानिक मात्रै नभएर अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण रहेको बताईन् । उनले फेशबुकमा लेखेकी छिन्-

नागरिक उन्मुक्ति पार्टी आज देशको चारवटै तह —

संघीय संसद (४ जना माननीय)
मधेश प्रदेश (१ जना माननीय),
लुम्बिनी प्रदेश (४ जना माननीय),
सुदूरपश्चिम प्रदेश (७ जना माननीय)

मा जननिर्वाचित हैसियतमा प्रतिनिधित्व गरिरहेको छ।

यो उपस्थिति केवल सांसदहरूको संख्यामा सिमित छैन —
यो जनताको भरोसा, संविधानप्रति हाम्रो निष्ठा, र उत्पीडित समुदायहरूको आवाजको प्रतिनिधित्व हो।

तर पछिल्लो समय, सुदूरपश्चिम प्रदेशमा हाम्रो पार्टीका माननीय मन्त्रीलाई कुनै औपचारिक संवाद, कारण वा प्रक्रिया विना हटाइएको कार्य — केवल असंवैधानिक होइन, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण छ।

हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौं।

पार्टीभित्र गहिरो छलफल र
पार्टी संरक्षक माननीय रेशम चौधरीज्यूको दृढ मार्गदर्शन अनुसार,
नागरिक उन्मुक्ति पार्टी अब
प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको छ।

यो निर्णय जनताको म्यान्डेट, पार्टीको सम्मान, र
जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम हो।

हाम्रो माननीयहरू पार्टीको इज्जत हुन्।

उनीहरूको बेइज्जती पार्टीको बेइज्जती हो — र
पार्टीप्रति जनताको विश्वासमाथिको अवमूल्यन हो।

अब, हामी सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिनेछौं