संविधान संशोधनको परिपक्व वातावरण बनिसकेको छैनः एमाले सचिव अर्याल


काठमाडौं, २२ असार । नेकपा (एमाले) कि सचिव पद्मा अर्यालले अहिलेकै परिस्थितिमा संविधान संशोधन हुन नसक्ने बताएकी छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान संशोधनका लागि परिपक्व वातावरण बनिनसकेको बताएकी हुन् । उनले परिपक्व वातावरण नबनी संविधान संशोधन गर्दा अर्को नयाँ समस्या थपिनसक्ने डर हुने बताईन् ।

‘संविधान संशोधन त तपाईँले पनि बुझ्नुभएकै छ, अरुले पनि बुझेकै छन् । संविधान संशोधनको कुरा अहिले यही वातावरणमा हुँदैन । अनावश्यक रुपमा अलिकति वातावरण नबनिकन त्यो खालको भरपर्दो शक्तिहरु हामीले निर्माण नगरीकन त्यतिकै छताछुल्ल बनाएर अर्को समस्या खडा गर्ने होइन,’– उनले भनिन् ।

साथै, नेतृ अर्यालले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दा केही गरेन भन्ने ठाउँ नरहेको दाबी गरिन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा विभिन्न प्रकारको आन्दोलन लिएर जनता सडकमा उत्रिएको बताउँदै उनले अहिले ती सबै आन्दोलन मत्थर भइसकेको दाबी गरिन् । ‘सरकारको एक वर्षको समीक्षा गर्दैैगर्दा सरकारले केही गरेन भन्ने ठाउँ त म देख्दिनँ । सरकारले महत्वपूर्ण कामहरु गर्दै आएको छ,’– उनले भनिन् ।

साथै, उनले अहिले भएको राम्रा कामहरु केही पनि प्रचार नगर्ने र समस्या भएको ठाउँमा मात्रै देखाएर जनतामा अनास्था फैलाउने काम भइरहेको बताईन् ।