सरकार केपी शर्मा ओलीले होइन, संयन्त्रले चलाइरहेको छः केदार कार्की


काठमाडौं, २२ असार । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व नगरेको टिप्पणी गरेका छन् । नेता कार्कीले अहिले सरकार सञ्चालनको लागि संघदेखि पालिकासम्म नै संयन्त्र रहेको र संयन्त्रले सरकार चलाइरहेको बताएका हुन् । उनले संयन्त्रबाट सरकार चलाएको प्रभाव प्रदेशमा पनि देखिएको बताए ।

‘माथिको सरकार चलाउनदेखि लिएर स्थानीय सरकार चलाउनसम्म संयन्त्र बनाइसकेपछि अहिले त सरकार संयन्त्रले चलाएको छ । सरकार चलाउने संयन्त्र नै बनाएको छ नि हैन ? आधिकारिक रुपमै पालिकासम्मै संयन्त्र बनाउने भनेर बनाइरहेका छन् नि हैन र ? सरकार कसले नेतृत्व गरेको छ भन्ने कुरा नै भएन नि, संयन्त्रले चलाइरहेको छ,’– उनले भने ।

साथै, उनले सरकार बनाउने बेलामा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमति अलपत्र परेको बताए । उनले सरकार सात बुँदे सहमति कार्यान्वयन गर्ने भन्दा पनि परालकै भए पनि कसरी आफू बलियो बन्ने भनेर लेप लगाइरहेको बताए । उनले काम गर्ने र परिणाम निस्किनेतर्फ सरकारको चासो नै नरहेको बताए ।

‘अहिले देशको नेतृत्वमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । उहाँले सात बुँदे सहमति गर्नुभएको छ । नेपाली कांग्रेसका नेताहरुले पनि सात बुँदे सहमति गर्नुभएको हो । सात बुँदे सहमति चाहिँ गर्नुभयो । त्यसबाट परिणाम चाहिँ सात बुँदे कहाँ र कुन ठाउँमा छ थाहा छैन । काम गर्ने र कामको परिणाम निस्किने, जनताप्रति केन्द्रीत हुने भन्दा पनि कसरी आफू बलियो हुने ? एकदम परालको भए पनि वरिपरी लेप लगाउने कुरामा बढी केन्द्रीत भएको देखिन्छ । संघीय सरकारको असर चाहिँ तलसम्मै परेको छ,’– उनले भने ।