काठमाडौं, २२ असार । सर्लाही प्रहरीको फरार सूचिमा रहेका जसपाका नेता अशोक यादवले आफू भागेर कहीँ नगएको स्पष्ट पारेका छन् । उनले प्रहरीको कुटाईबाट छोराको गर्धनमा गम्भीर चोट लागेको कारण आफूहरु यतिवेला उपचारमा खटिएको भन्दै छिट्टै सर्लाही फर्किने बताएका छन् ।
उनले सर्लाही प्रहरीले आफूमाथि झुटो मुद्दा लगाउने खोजेको आरोप लगाए । यादवले फेशबुक लाइभमा भनेका छन्,‘ममाथि अनावश्यक हिसाबले मुद्दा दर्ता गरिएको छ, त्यसबाट म डराएको छैन । म चाँडै आउँदैछु सर्लाहीमा ।’ सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्र खड्का र यादवबीच फोनमा भनाभन भएको थियो ।
यादवले प्रहरी प्रमुख खड्कामाथि मुख छाडेको भिडिओ सार्वजनिक भएको थियो । सर्लाहीमा केही दिन स्थिति तनावग्रस्त बनेको थियो । अहिले उनै यादवमाथि प्रहरीले सार्वजनिक सेवामा रोकावट र राजनीतिक उपद्रो कसुरअन्तर्गतका दुई वटा मुद्दा दर्ता गराएको छ । जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ । यादवले भने आफू र परिवारमाथि प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलनमा उत्रिन पार्टी पँक्ति र सर्वसाधारण जनतालाई अपिल गरेका छन्।
https://www.facebook.com/watch/?v=1805326920021057&rdid=YHmbkTvadLE417AO




प्रतिक्रिया