कांग्रेसले नेताहरुको संरक्षण नगरेको भन्दै गोपालमानको असन्तुष्टि, समान व्यवहार गर्न आग्रह


काठमाडौं, २२ असार । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीले नेताहरुको संरक्षण गर्न नसकेको बताएका छन् । आज (आइतबार) केन्द्रीय समितिमा आफ्ना धारणा राख्दै उनले कसैलाई काखा, कसैलाई पाखा गरिएको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणदेखि लिएर टेरामक्स प्रविधि प्रकरणमा मोहन बस्नेतमाथि मुद्दा लागेको प्रशंग उल्लेख गर्दै उनले एमाले, माओवादीले जसरी कांग्रेसले आफ्ना नेताहरुको संरक्षण गर्न नसकेको बताए ।

‘कसैलाई काखा, कसैलाई पाखा गर्न भएन। कसैलाई पहिले नै बचाउने र कसैलाई छाडिदिने पनि गर्न भएन । माओवादीले आफ्ना मानिसलाई बचाएको छ । दोषी ठहर भइसकेका मानिसलाई बचायो। एमालेले पनि बचाइराखेको छ,’– बैठकमा आफ्ना धारणा राख्दै उनले भने ।

नेता श्रेष्ठले खुमबहादुर खड्कादेखि विजयकुमार गच्छदारसम्मलाई पार्टीले संरक्षण गर्न नसकेको सुनाए । उनले पार्टीका सबैलाई समान रुपमा व्यवहार गर्न पनि आग्रह गरे ।