जसपा नेपालले समर्थन फिर्ता लिइसक्यो, औपचारिकतामात्रै पूरा गर्न बाँकी होः मनिष सुमन (भिडिओसहित)


काठमाडौं, २३ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिकतामात्रै पुर्याउन बाँकी रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यक्ष उपेन्द्र यादवको कार्यव्यवस्थताको कारणले केही औपचारिकता पूरा गर्नमात्रै बाँकी रहेको बताएका हुन् । उनले केन्द्रीय कार्यकारिणी समितिले नै समर्थन फिर्ता लिने निर्णय गरिसकेपछि अब के हुन्छ भनेर दुविधामा रहन आवश्यक नरहेको बताए ।

‘हामीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारलाई बिगत एक वर्षदेखि दिँदैआएको समर्थन फिर्ता लिइसकेका छौं । त्यसको औपचारिकतामात्रै बाँकी छ । हाम्रो अध्यक्षजी नै संसदीय दलको नेता हुनुहुन्छ । अध्यक्षजीको कार्यव्यवस्थताको कारण हामी केही दिन रोकिएको हो । कार्यकारिणी समितिबाट निर्णय भइसक्यो । समर्थन फिर्ता भइसक्यो,’– उनले भने ।

वर्तमान सरकार बन्दा सुशासन दिन्छौं, आर्थिक समृद्धि ल्याउँछौं, भ्रष्टाचार निर्मूल पार्छौं, संविधान संशोधन गर्छौं भनेर कबुल गरिएकोमा एउटा पनि काम नभएको उनले बताए । अहिले देशमा भ्रष्टाचार चरम सीमामा रहेको उनले बताए । नेपालको इतिहासमा अहिलेको भन्दा नराम्रो आर्थिक अवस्था कहिले पनि नरहेको उनले बताए ।

सुशासन, आर्थिक समृद्धि, विधिको शासन, भ्रष्टाचारलाई निर्मूल नै पार्छु र संविधान संशोधन गर्छौं । यी चार चिजहरु उहाँहरुले भन्नुभएको थियो । त्यो मध्ये एउटा पनि पूरा भएन । संविधान संशोधन ओठे बोलीमात्रै हो । भ्रष्टाचार त झन चरम सीमामा पुग्यो । विधिको शासनको हाँस्यास्पद कुरा छ । यो भन्दा नराम्रो आर्थिक अवस्थामा नेपालको इतिहासमा कहिले पनि थिएन । यस्तो एउटा निकृष्ट सरकार जसले केही पनि गरेन । स्थिरताको लागि हामी मतदान गरेका थियौं । स्थिरता पनि देखिएन । अनि हामीले समर्थन फिर्ता लियौं,’– उनले भने ।