संघीय लोकतान्त्रिक मोर्चाले आगामी ०८४ को निर्वाचनमा देशभर साझा उम्मेदवार उठाउँछः हृदयेश त्रिपाठी


काठमाडौं, २३ असार । जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा मोर्चाको तर्फबाट साझा उम्मेदवार उठाइने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मोर्चामा रहेको दल नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–३ मा साझा उम्मेदवार उठाइने बताएका हुन् । मधेश केन्द्रीत राजनीतिक दलहरुको संघीय लोकतान्त्रिक मोर्चाका नेतासमेत रहेका त्रिपाठीले रुपन्देही–३ मा नाउपाले गत २०७९ को निर्वाचनमा मोर्चामा भएका दलहरुभन्दा धेरै मत ल्याएकाले उसले माग्नुलाई जायज मान्न सकिने बताए ।

‘मोर्चामा भएको दलहरुमध्ये सबैभन्दा बढी मत ल्याएको नाउपा नै हो । उसको माग जायज पनि हो । दोस्रो लोसपा हो, लोसपाले एउटा प्रदेशसभा जितेको हो त्यहाँ । तर, लोसपासहित हामी दलहरुले यस पटक नाउपालाई नै यो सिट छोडौं । एउटा साझा उम्मेदवार बनाऔं भनेर हामी निष्कर्षमा पुगेको अवस्था छ,’– उनले भने ।

‘आगामी निर्वाचनमा देशभरी मोर्चाले साझा उम्मेदवार उठाउने रणनीति नै हो ?’ भन्ने प्रश्नमा उनले आफूहरु त्यही अभ्यासमा नै रहेको बताए । आगामी ०८४ को प्रतितिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर मोर्चाले साझा उम्मेदवार उठाउने उनले बताए ।

‘त्यो एकदमै सम्भव छ र हुन्छ पनि त्यही । हामी एक हुँदा जुन शक्तिको रुपमा २०६४ र २०७० को निर्वाचनमा आएका थियौं, विभाजित भइसकेपछि जुन अवस्था आयो, त्यसबाट सबैले चेत लिएका छन् । सबैमा रियालाइजेशन के भयो भने हामी अब मिलेर जाऔं,’– उनले भने ।