रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुको उद्धार


काठमाडौं, २४ असार । बाढीका कारण रसुवागढी जलविद्युत आयोजना क्षेत्रमा फसेका २३ जना कामदारको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले उनीहरु फसेका थिए । बाढीका कारण रसुवाको गोसाईंकुण्ड–२ स्थित रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले बताएको छ ।

बाढीका कारण रसुवागढीस्थित मितेरी पुल पूर्णरुपमा क्षति भएको छ । नेपाल,चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुगेको बताइएको छ ।