काठमाडौं, २५ असार । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वर्गीय गिरिजा प्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर ठूलो गल्ती गरेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गिरिजालाई राष्ट्रपति नबनाउनु पहिलो गल्ती र शान्ति प्रक्रियाको बाँकी काम र राज्य पुनर्संरचनाको काम सेना समायोजनपछि गरिनु दोस्रो गल्ती भएको बताएका हुन् ।
‘पहिलो पटक गिरिजाजीलाई राष्ट्रपति दिनुपर्थ्यो । उहाँ बनाउन चाहनुहुन्थ्यो । तर, अरुको दवाबमा परेर उहाँले चाहेअनुसार हुन सकेन । दोस्रो कुरा राज्य पुनर्संरचना गर्ने, शान्ति प्रक्रिया टुङ्याउने धेरै ठूलो र ऐतिहासिक महत्वको काम थियो । सेना समायोजन नगरी यी तमाम प्रश्नहरुको हल गर्नुपर्थ्यो । किनभने शक्ति नभएपछि त सकिँदैन,’– उनले भने ।
नेता सापकोटाले माओवादीले आफ्ना कमीकमजोरी भनेर जनतासमक्ष माफी मागेको उनले बताए । जनताले माओवादीलाई माफी दिएर फेरी सबैभन्दा ठूलो पार्टी बनाउनेमा उनले विश्वास व्यक्त गरे । गत स्थानीय तहको उपनिर्वाचनमा निकै उत्साहजनक मत आएको, स्ववियू निर्वाचन, पत्रकार महासंघको निर्वाचनलगायतको निर्वाचनले माओवादीले आगामी दिनमा गुणात्मक सफलता हासिल गर्ने उनले बताए ।
उनले माओवादीलाई जनताले नराम्रोसँग झापड हानेको बताए । अब २०८४ मा माओवादी पहिलो पार्टी बन्ने उनको दाबी छ । कांग्रेस, एमाले र अन्य दलका हजारौं नेताहरु माओवादीमा प्रवेश गर्ने क्रम जारी नै रहेको उनले बताए । माओवादीले समाजवादको भव्य आधार तयार गरिरहेको उनको दाबी छ ।




प्रतिक्रिया