काठमाडौं, २५ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन्मिएको ३ वर्षसम्म स्टन्टबाजीमै रमाएको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपा अहिलेसम्म अरुलाई दोषारोपण गर्ने, खुइल्याउने र सामाजिक सञ्जालको दुरुपयोग गर्नेमै रमाइरहेको उनले बताए ।
‘यो पार्टी जन्मिएको ३ वर्षसम्म स्टन्टबाजीमै रमाइरहेको छ । कसैलाई दोषारोपण गर्नमा रमाइरहेको छ, कसैलाई खुइल्याउनमा रमाइरहेको छ । केही मान्छेहरु जम्मा पारेर, सामाजिक सञ्जालको दुरुपयोग गरेर कसैलाई खुइल्याउने र कसैलाई प्रचारमा ल्याउने काममै रमाइरहेको छ । यसरी सधैं काम चल्दैन । झुठोलाई साँचो भनी केही समय जनतालाई भ्रममा पार्न सकिएला । तर, सधैं सकिँदैन,’– नेता घिमिरेले भने ।
साथै, उनले संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि आलोचना गरे । अहिले राजतन्त्र पूर्वराजालाई चाहिएको हो कि राप्रपालाई चाहिएको हो भन्ने कुरा आफूले बुझ्न नसकेको पनि उनले बताए । पूर्वराजा आफ्नै व्यापार व्यवसायमा रमाइरहेको बताउँदै नेता घिमिरेले जबरजस्ती नधकेल्न आग्रह गरे ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदमा पाँचौं ठूलो दलको रुपमा उपस्थित छ । अहिले बहिष्कारमा छ, मरो सौभाग्य भनौं या दुर्भाग्य भनौं अहिले उहाँहरु यहाँ हुनुहुन्न । तर पनि मैले यहाँ केही कुराहरु उठाउनै पर्ने भएको हुनाले उठाएको छ । उहाँहरु राजा चाहियो भनेर हिड्नुभएको छ । मैले त बुझेको छैन, नेपालमा राजतन्त्र पूर्वराजालाई चाहिएको हो कि उहाँहरुलाई चाहिएको हो ? कसलाई चाहिएको हो । मलाई त लाग्छ– पूर्वराजा आफ्नै व्यापार व्यवसायमा रमाएर बसिरहनुभएको छ । उहाँ (पूर्वराजा) लाई जबरजस्ती धकेल्न खोज्दै हुनुहुन्छ उहाँहरु,’– उनले भने ।
उनले निरङ्कुश राजतन्त्रको सपना नदेख्न र संवैधानिक राजतन्त्रको बाटो पनि बन्द भइसकेको बताए । नागरिक भएका जनतालाई फेरि रैति बनाउने कोशिस सह्य नहुने उनले बताए ।




प्रतिक्रिया