पार्टी अनुशासन समितिको कारबाही अवैधानिक, अमर्यादित र असान्दर्भिक छः डा.गोविन्दराज पोखरेल


काठमाडौं, २७ असार । नेपाली कांग्रेसका नेता डा.गोविन्दराज पोखरेलले पार्टीको अनुशासन समितिले २३ जना नेताहरुमाथि गरेको अनुशासनको कारबाही अवैधानिक र अपारदर्शी रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अर्को महाधिवेशन आउने बेलामा कारबाही गरिनु आफैंमा दुःखद् रहेको बताएका हुन् ।

‘अब अहिले अर्को निर्वाचन आउँदैछ, महाधिवेशन आउँदैछ । यति ढिलो आएर लामो समयदेखि पार्टीमा योगदान गरेका नेता, कार्यकर्तामाथि जुन कारबाही गरिएको छ, त्यो अपारदर्शी छ, अवैधानिक छ, अमर्यादित छ, असान्दर्भिक छ,’– उनले भने ।

गत ०९७ को निर्वाचनमा पार्टीले गठबन्धन गरेका कारण पनि केही नेता कार्यकर्ताहरुले पार्टीले समर्थन गरेको आधिकारिक उम्मेदवारको विपक्षमा काम गरेको उनले बताए । साथै, ०७९को निर्वाचनमा लामो समय संगठन गरेका नेताहरुले टिकट नपाएको पनि उनले बताए ।

‘हामी ०७९को चुनावमा गठबन्धन गर्यौं । पार्टीमा धेरै लामो समयसम्म दुःख गरेका मान्छेहरुले टिकट पाएनन् । कुनै ठाउँमा एक जना मान्छेले लामो समयदेखि संगठन गरेका छन्, अर्को मान्छेलाई ल्याएर टिकट दियो पार्टीले । अनि सुरुमा त मान्छेमा आक्रोश भइहाल्छ नि,’– उनले भने ।

नेपाली कांग्रेसको अनुशासन समितिले गत ०७९ को निर्वाचनमा अन्तरघात गरेको आरोपमा पार्टीका २३ जना नेताहरुमाथि अनुशासनको डण्डा चलाएको छ । यसरी अनुशासनको कारबाहीमा पर्नेमा प्रदेश महामन्त्रीदेखि पूर्वमन्त्रीसमेत रहेका छन् । उनले पार्टीमा संस्थापन पक्षले ज्यादति गरिराखेको उनले बताए ।

‘महाधिवेशनको मुखमा आएर पार्टीबाटै, पार्टीको क्रियाकलापमा संलग्न हुन नपाउनेगरी निलम्बन गर्नु पार्टीभित्र झाँङ्गिएको तानाशाही प्रवृत्ति, गुटगत प्रवृत्ति छ, त्यसलाई अझ थप बलियो बनाएर संस्थापन पक्षले गरेको ज्यादति हो यो,’– उनले भने ।