पत्नी सीताको स्मृति दिवसमा प्रचण्ड पुगे मानव सेवा आश्रम, आश्रितहरूलाई भोजन गराए


काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज मानव सेवा आश्रम पुगेका छन् । पत्नी सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा प्रचण्ड काठमाडौंको रानीवनमा रहेको आश्रममा पुगेका हुन् । सो क्रममा उनले उक्त आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका छन् ।

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौँडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए। मानव सेवा आश्रमले अत्यन्नै राम्रो र सामाजिक काम गरेको भन्दै आगामी दिनमा आश्रमलाई सबैखाले सहयोग पुर्याउनेसमेत प्रचण्डको प्रतिबद्धता थियो ।

तस्विर : प्रचण्डको सचिवालय