काठमाडौं, २९ असार । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई प्राकृतिक न्यायको खिलाफमा हुनेगरी पार्टीबाट निष्काशन गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी अनुशासन आयोगको अध्यक्षबाट हटाएको विरुद्ध उनी उजुरी गर्न निर्वाचन आयोगका पुगेका हुन् । केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आयोगको अध्यक्षबाट सुवेदीलाई हटाउँदै उपाध्यक्ष रोशन कार्कीलाई सो जिम्मेवारी तोकेका थिए । उक्त कार्यलाई सुवेदीले लिङ्देनको स्वैच्छाचारिताको संज्ञा दिए ।
‘अध्यक्षको स्वैच्छाचारिता हो । केन्द्रीय समितिबाट निर्णय भएको छैन । यो प्राकृतिक न्यायको खिलाफमा उहाँहरुले निर्णय गर्नुभयो । निर्णय गर्नु अगाडिमलाई सोध्नु पनि पर्थ्यो, मलाई सोधिएको पनि छैन, मलाई चिठी लेखेर दिएको पनि छैन । मैले त खाली मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकाल्नुभयो र अर्को मान्छे ल्याउनुभयो भनेर । त्यसकारणले म निर्वाचन आयोगमा उजुरी गर्न आएको हुँ,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।
साथै, आफूले राप्रपा छाड्ने कुुरा कहिल्यै पनि नगरेको उनको दाबी छ । आफूले बोलेको अघि÷पछिको सन्दर्भ नराखी सुविधा लाग्ने कुराको मात्रै भिडिओ बनाइएको उनले बताए । उनले भने, ‘मेरो आशय के थियो भने संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रको निम्ति म जुनसुकै योगदान गर्न पनि तयार छु । मेरो पार्टीबाट राजीनामा दिनुपर्यो, छोड्नुपर्यो भने पनि म छोड्न तयार छु तर यो पद म छोड्दिन भनेको । अघिपछिको कुरा सबै हटाइयो, बीचमा उहाँहरुलाई जे सुविधा लाग्ने भयो त्यहीमात्रै हालियो ।’




प्रतिक्रिया