कोइलीको मृत्यु प्रकरणमा जाहेरी परेपछि एमालेको प्रेस चौतारीका अध्यक्ष खत्री फरार


काठमाडौं, असार ३० । रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत कोइली शाहीको मृत्युको घटनामा एमालेको भ्रातृ संस्था प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीविरुद्ध जाहेरी परेको छ ।

खत्रीविरुद्ध शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपीचार घर भएकी २५ वर्षीया शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् ।

कोइली शाहीको परिवारले प्रेस चौतारीका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका हुन् । खत्रीले शाहीलाई फोन गरेर पटक–पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक उमाशंकरप्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको बताए । यादवले जाहेरी परेका व्यक्तिको खोजी कार्य भइरहेको बताएका छन् ।

आफन्तले मृतक शाहीको अन्त्येष्टि गरिसकेका छन् । डीएसपी यादवले पोष्टमार्टम रिपोर्ट आउन केही दिन लाग्ने बताएका छन् । शाहीका आफन्तले आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि प्रेस चौतारीका अध्यक्ष खत्री फरार भएका छन् ।