काठमाडौं, ३२ असार । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुवोधराज सेर्पालीले माओवादी घटकहरुको एकता आजको अपरिहार्यता रहेको बताएका छन् । एकताको महशुस गरेका घटकहरुसँग विनाशर्त अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
‘नेकपा (माओवादी केन्द्र) बाट विभाजित भएर अन्य पार्टी बनाएका, हाल एकताको महसुस गरेका सबै माओवादी घटकलाई एकताबद्ध गर्न हामी बिनासर्त अघि बढ्नुपर्छ,’– उनले भनेका छन् ।
साथै, कुनै बेला एकता र ध्रुवीकरणको नेता बनेको माओवादी हिजोआज विभाजनको चङ्गुलमा चुर्लुम्म डुबेको उनले बताएका छन् । फुटेकालाई जुटाउने र बृहत कम्युनिस्ट एकताको नेतृत्व गर्ने सुनौलो अवसर माओवादी केन्द्रसँग अहिले रहेको उनको भनाइ छ । वाम ध्रुवीकरणका लागि माओवादी मन चाहिने र अलिअलि एकता पचाउने हिम्मत पनि चाहिने उनको भनाइ छ । एकतापछि मात्रै उकुसमुकुसपूर्ण वर्तमानबाट माओवादी माथि उठ्न सक्ने उनको बुझाइ छ ।
‘शर्त कसैले नराखौं, आम सहिदको सपना साकार पार्न गौरवपूर्ण हाम्रो इतिहासलाई अझ बलियो बनाउन ढिलो होइन, चाँडो एकता गरौं । एकताको लागि कसले के–के त्याग गर्ने त्यागौं । मेरो नै कुरा सहि भनेर दुई पक्षबीच कहिले सकारात्मक सम्वाद अनि मिलन हुँदैन,’– उनले भनेका छन् । File Photo/RN




प्रतिक्रिया