मदन भण्डारीको हीरक जयन्ती मनाइने


काठमाडौं । नेकपा (एमाले) का दिवंगत नेता मदन भण्डारीको स्मृतिमा हीरक महोत्सव मनाउने भएको छ । यसका लागि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ‘जननेता मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ गठन भएको छ ।

मंगलबार काठमाडौंमा मदन भण्डारी फाउन्डेशनले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिइएको हो । समितिको संरक्षक विद्यादेवी भण्डारी रहनेछिन् । १४ असार २००९ मा जन्मिएका भण्डारीको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । ४१ वर्षमै उमेरमा दुर्घटनामा ज्यान गुमाएका भण्डारी जनताको बहुदलीय जनवाद (जबज) का सिद्धान्तकार हुन् ।

फाउन्डेशनका सचिव हस्त पण्डितका अनुसार भण्डारीको ७५औं जन्मजयन्तीको सन्दर्भमा उनको व्यक्तित्व, कृतित्व र योगदानलाई जनसमक्ष पु¥याउने उद्देश्यले गठन गरिएको समितिको सल्लाहकार समितिमा महेन्द्रबहादुर पाण्डे, सोमनाथ अधिकारी प्यासी, युवराज कार्की र वाचस्पति देवकोटा रहेका छन् ।

समितिको सहसंयोजकद्वयमा सुशील प्याकुरेल र प्रा.डा. गणेशमान गुरुङ रहेका छन् भने सचिवमा डा. भेषराज अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरूमा सानु श्रेष्ठ, गोपाल गुरागाईं, विनोद ढकाल, पार्वत भण्डारी, खेम नेपाली, राम दंगाल, सिद्धराज राई, सुबोधराज प्याकुरेल, जयकुमार राई, राज मोहम्मद राय, मणिशङ्कर निधिलगायत रहेका छन् ।

२०४६ भदौमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिव भएका भण्डारीले झन्डै साढे तीन वर्षमात्रै खुला राजनीति उपभोग गरे । उनकै स्मृतिमा गठन गरिएको फाउन्डेशनले हीरक महोत्सव मनाउने तयारी सुरू गरेको हो ।

फाउन्डेशनका अनुसार मदन भण्डारी हीरक जन्मजयन्तीलाई वि.सं. २०८२ र २०८३ भर मनाइने र २०८४ मा समापन वर्षको रूपमा ऐतिहासिक रूपमा मनाइनेछ ।

जन्मजयन्तीमा विचार गोष्ठी, छलफल तथा अन्तक्र्रिया, कविता, वादविवाद, हाजिरीजवाफ र खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीजस्ता रचनात्मक क्रियाकलाप गरिने फाउन्डेशनका सचिव पण्डितले बताए । उनका अनुसार यो समिति देशका टोलटोलसम्म पुगेर अन्य सामाजिक अभियानसँग जोडिनेछ ।