एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनको तयारीबारे छलफल हुने


काठमाडौं, १ साउन । नेकपा (एमाले) को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागिएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा, विधान महाधिवेशनको एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

आजको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाका, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिवले शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीको सनराइज हलमा हुँदैछ । उत्तल विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष हटाउने तयारी एमालेको रहेको छ । वरिष्ठ उपाध्यक्षको ठाउँमा सह–अध्यक्ष राख्ने गृहकार्य भइराखेको छ ।