काठमाडौं, २ साउन । झापाको बिर्तामोड नगरपालिका–५ मंगलदिप टोलस्थित मनकुमार संग्रौलाको घरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । संग्रौलाको दुई तले घरको भुई तलाको दुई वटा कोठाहरुमा भण्डारण गरिराखिएको लागूऔष प्रहरीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल १ लाख ३ हजार ८ सय क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइट इन्जेक्सन ट्रामाडेक्स १हजार ८७० एम्पुल, ट्रामाडोल एण्ड एसिटामिनोफेन ट्याब्लेट ४ हजार ५०, डिसाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल ट्याब्लेट ८ हजार ९ सय ट्याब्लेट र कम्बिप्याक अफ मिफेप्रिस्टोन ट्याब्लेट एण्ड मिसोप्रोप्सोल ट्याब्लेट ७ हजार ६५० ट्याब्लेट बरामद गरेको छ ।
प्रतिबन्धित लागूऔषधसहित प्रहरीले झापा अर्जुनधारा नगरपालिका–६ दासपुल बस्ने बिनोद घिमिरेलाई नियन्त्रणमा लिएको छ । घिमिरेले प्रयोग गर्ने मोबाईल र प्र.१–०१–०१३ प ८९०४ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल पनि नियन्त्रणमा लिइएको बताइएको छ ।
पक्राउ परेका घिमिरेले आफू भरियाको भूमिकामा रहेको जानकारी गराएको प्रहरीले बताएको छ । अर्डर आएपछि आफूले पुर्याइदिने गरेको र सो औषधि प्रतिबन्धित लागूऔष हो भन्ने आफूलाई कुनै जानकारी नरहेको भनी पक्राउ परेका घिमिरेले बयानका क्रममा भनेको प्रहरीले बताएको छ । प्रहरीको अनुसार घिमिरेले सो औषधि र गोदाम भानुभक्त खरेलको रहेको बताएका छन् । प्रहरीका अनुसार खरेल एमालेका स्थानीय नेता तथा औषधि व्यापारी हुन् । हालसम्म खरेल भने पक्राउ परेका छैनन् ।




प्रतिक्रिया