पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता बढ्दो, आज प्रधानमन्त्रीलाई भेट्ने


काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच आज (आइतबार) दिउँसो ३ बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता तय भएको बताइएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेपछि ओलीसँग पहिलो भेट गर्न लागेकी हुन् । गत असारको १४ गते भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिईन् । भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयमा पार्टी सचिवालय र पोलिटव्यूरो बैठकमा पनि निकै चर्चा भएको थियो ।

भण्डारी राजनीतिमा फर्किएको विषयलाई लिएर अहिले एमालेमा दुईथरी मत देखा परेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीनिकट नेताहरुको धारणा भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने छ । त्यस्तै, पार्टीमा ओलीबाट हेपिएका, चेपिएका र बहिष्करणमा परेका नेताहरु भने भण्डारी सक्रिय राजनीतिमा फर्किएकोमा खुसी छन् । उनीहरुले भण्डारीलाई एमालेको अध्यक्ष र भावी प्रथम महिला प्रधानमन्त्रीको रुपमा अगाडि सारिरहेका छन् ।