काठमाडौं, ४ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कर्ण बहादुर थापाले पार्टीमा केपी शर्मा ओली र विद्या भण्डारीको बीचमा कित्ताकाटको स्थिति नरहेको बताएका छन् । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिले पार्टीभित्र अध्यक्ष ओली र पूृर्वराष्ट्रपति भण्डारीबीचमा कुनै पनि प्रकारको कित्ताकाट नरहेको दाबी गरेका हुन् ।
‘उहाँहरु बीचमा कुनै कित्ताकाट छैन । महाधिवेशनको बेलामा, आउँदैछ महाधिवेशन, त्यो बेलामा को–को उम्मेदवार हुने भन्ने कुरा पछिको कुरा हो । अहिले कुनै पनि कित्ताकाटको स्थिति छैन,’– उनले भने ।
साथै, भण्डारीले विधान महाधिवेशनमा प्रतिनिधिको माग नै नगरेको उनले बताए । ‘विद्या भण्डारी स्वयंले पनि म विधान महाधिवेशनको प्रतिनिधि हुन पाउँ भन्नुभएको छैन । पार्टीको कुनै नेताले पनि, हामी कसैले पनि त्यो हुनुपर्छ भनेका छैनौं । यो प्रचार कसरी भयो ? यो गतल प्रचार भयो । राष्ट्रिय महाधिवेशनको प्रतिनिधि नै यो विधान महाधिवेशनको प्रतिनिधि हुन्छन् भनेपछि उहाँ त राष्ट्रिय महाधिवेशनको प्रतिनिधि हुनुहुन्न थियो । माग नै नभएको चिज क–कसले के–के प्रचार गर्छ ? मलाई त अचम्म लाग्छ,’– उनले भने ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीसँग छलफल गर्न भन्दै भण्डारी आज च्यासल पुगेकी छन् । दुई पटक राष्ट्रपति भइसकेकी भण्डारीले गत असार १४ गते आफूले एमालेको सदस्ता नवीकरण गरेको जानकारी गराएकी थिईन् । सक्रिय राजनीतिमा भण्डारीको आगमनसँगै एमालेमा पनि दुईथरी विचारहरु आइरहेका छन् । ओली पक्षीय नेताहरुले देशको प्रथम नागरिक भइसकेको व्यक्ति राजनीतिमा फर्किन नहुने तर्क गरिराखेका छन् ।
यता अध्यक्ष ओली पक्षबाट हेपिएका, चेपिएका र बहिष्करणमा परेका नेताहरुले भने भण्डारी राजनीतिमा आउनुलाई उत्साहको रुपमा लिएका छन् । उनीहरुले भण्डारीलाई आगामी पार्टी अध्यक्ष र भावी प्रथम महिला प्रधानमन्त्रीको रुपमा लिएका छन् ।




प्रतिक्रिया