काठमाडौं, ४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको हो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका अनुसार पार्टी पोलिटव्यूरो बैठकको निर्णयअनुसार ओली–भण्डारीबीच भेटवार्ता भएको हो ।
‘हिजोको पोलिटव्यूरो बैठकले गरेको निर्णयका आधारमा हाम्रो पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्रीज्यू र पूर्वराष्ट्रपतिज्यूको बीचमा भेटघाट भएको हो,’ उनले भने, ‘उहाँको पार्टी सदस्यताको कुरा, पार्टीमा आउने विषयको कुरा । यी विषयहरुमा छलफल गर्ने भनेर हिजो निर्णय गरिएको थियो । यिनै विषयमा केन्द्रीत होला भन्छु है मैले ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीको पार्टी सदस्यता एक वर्ष पहिला नै नवीकरण भइसकेको बताए । उनले पार्टी महासचिव शंकर पोखरेलले नै भण्डारीको पार्टी सदस्यता नवीकरण गरिएको बारे एक अन्तरवार्तामा भनिसकेको पनि उनले बताए । ‘संघर्ष गर्नुपर्ने कुरा नै होइन । सदस्यता नवीकरण गरिसकेको कुरा त हाम्रो पार्टीको महासचिवजीले नै कुनै अन्तरवार्तामा भनिसक्नुभएको छ,’– वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
अब जिम्मेवारीको कुरा कहाँ, के कसो भन्ने चाहिँ सल्लाह र परामर्शबाट टुङ्गो लाग्ने उनले बताए ।




प्रतिक्रिया