ओली-भण्डारीको भेट एमालेका लागि महत्त्वपूर्ण छः योगेश भट्टराई


काठमाडौं, ४ साउन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता एमालेका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ ।’

साथै, नेता भट्टराईले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरामा अधिकांश नेताहरूले पार्टी अध्यक्षसँग कुराकानी हुनुपर्छ भनेकाले आजको भेट भएको बताए । आफ्ना–आफ्ना कोणबाट अभिव्यक्ति दिने भन्दा पनि छलफल गरेर उपयुक्त कुराको निकास निकाल्नुपर्छ भनेर सबैले सुझाव दिएकाले सोही अनुसार भेटवार्ता भएको उनले बताए ।

साथै, भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय भने प्राविधिक रहेको बताए । प्राविधिक कुरा टुंगिनुअघि राजनीतिक कुरा टुंग्याउनुपर्ने उनले बताए । ‘प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक छैन । मुख्य कुरा भनेको राजनीतिक कुरा हो,’– उनले भने ।