काठमाडौं, ५ साउन । नेकपा (एमाले) बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भण्डारीलाई उपयुक्त जिम्मेवारीका साथ पार्टीमा स्वागत गर्ने कुरामा कुनै विवाद नरहेको बताएका हुन् ।
‘अब उहाँले बाँकी जिन्दगी पार्टीभित्र बसेर काम गर्छु भन्दाखेरी त्यहाँ हुँदैन कसैले भनेकै छैन । न अध्यक्षले भन्नुभएको छ न कसैले भनेको छ । उहाँको आवश्यकतालाई पार्टीले महशुस गरेर उपयुक्त जिम्मेवारीका साथ पार्टीमा स्वागत गर्ने कुराको कहीँ विवाद छैन,’– उनले भने ।
साथै, उनले भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको पनि बताए । उनको पार्टी सदस्यतालाई लिएर अब तर्क वितर्क गर्नुको कुनै तुक नरहेको बताए । भण्डारीलाई पार्टीमा अपमानजन व्यहार नहुने उनको भनाइ छ ।
‘नवीकरणको कुरा सकिइसक्यो । अब कुनै विषय छैन । किनभने महासचिवले बोलिसक्नुभयो, उहाँले बोलिसक्नुभयो । अरु नेताहरुले बोलिसके । अब त्यो विषय गेम इज ओभर । अब त्यसमा कुनै तर्क वितर्क छैन । उहाँको सदस्यता नवीकरण भइसक्यो,’– उनले भने ।




प्रतिक्रिया