ओली-देउवाले ‘गो अ हेड’ भन्नुभएको छ, प्रदेश सरकारमा कुनै समस्या छैनः मुख्यमन्त्री सिंह


काठमाडौं, ९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अहिले प्रदेश सरकार फेरबदल नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रबाट शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले आफूलाई ‘गो अ हेड’ भनेको बताएका हुन् । मुख्यमन्त्री सिंहले संघीय गठबन्धनले अहिलेसम्म जनमत पार्टीको नेतृत्वमा सरकार चलाउन दिएको र फेरबदलको लागि कुनै छलफल नभएको बताए ।

‘एउटा पार्टीको बहुमत छैन । गठबन्धनको सरकार हो । काठमाडौंबाट जिताएर जुन बेलासम्म मलाई दिनुभएको छ, त्यो बेलासम्म हामीले काम गर्ने हो । जनतालाई डेलिभरी हुनेगरी काम गर्नुपर्यो । यहाँ कसैको इच्छा भएर त्यो हुनेवाला छैन । केन्द्रले गर्ने हो । केन्द्रले जतिबेलासम्म दिएको हुन्छ, त्यो हिसाबले गर्नुपर्छ । कसैको इच्छा, आकांक्षा भयो भने त्यो हिसाबले चल्ने होइन,’– उनले भने ।