म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा नाम दर्ज गरिसकेँ, पदप्रति कुनै लालसा छैनः विद्या भण्डारी


काठमाडौं, ९ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पदप्रति कुनै लालसा नरहेको बताएकी छन् । आज (शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको समेत स्मरण गराईन् ।

‘कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति ममा छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’– उनले भनिन् ।

साथै, उनले एमालेको सदस्य बनेर पार्टीलाई सबल, सुदृढ र एकतावद्ध बनाउने र राजनीतिमा आएर देश र जनताको सेवा गर्ने आफ्नो उद्देश्य रहेको बताईन् । उनले एमालेले संवैधानिक व्यवस्थाको विरुद्धमा गएर आफ्नो पार्टी सदस्यता रोक लगाएको पनि बताईन् ।

‘संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घामजतिकै छर्लङ्ग भएको विषय हो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुनेगरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन,’– उनले भनिन् ।

नेपालको संविधान, ऐन, कानुन र पार्टीको लोकतान्त्रिक मूल्य, मान्यतासमेतलाई नजर अन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने आफ्नो संवैधानिक अधिकार वा स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुने काम भएको उनले बताईन् । राजनीतिमा आउन रोक लगाउने गरी एमालेले अपरिपक्व निर्णय गरेको र जसको कारण आफूलाई दुःखी तुल्याएको पनि उनले बताईन् ।

यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउने उनको भनाइ छ । उनले आफूलाई राजनीतिमा आउन नगदिने गरी भएको निर्णय आवेग र उत्तेजनाको भरमा भएको बताईन् । यस्ता प्रकारका निर्णयले सत्यलाई अस्थायी रुपमा प्रभावित पार्न सकिए पनि वास्तविकतालाई साधैं छोप्न नसकिने उनले बताईन् ।