बागमती कांग्रेसमा किचलोः बानियाँ पक्षका सांसद फकाउँदै बहादुर, अविश्वासको प्रस्ताव फेस गर्ने अडान


काठमाडौं, ११ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले पार्टी संसदीय दलको अविश्वासको प्रस्ताव फेस गर्ने तयारी गरेका छन् । कांग्रेस बागमती प्रदेशका २१ सांसदहरुले मुख्यमन्त्री रहेका बहादुर सिंह लामा तामाङविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका ईन्द्रबहादुर बानियाँ, सांसदहरु शिवराज अधिकारी, कन्चन चन्द्र बादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ्ग दोर्जे लामा, मिना पराजुली, याङ्किला शेर्पा, मिनकृष्ण महर्जन, विमल ठकुरी, मदु कुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियारले तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले बानियाँलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।

तर, यता मुख्यमन्त्री तामाङ भने बानियाँ पक्षका सांसदहरु फकाउनेतर्फ लागेका छन् । बागमती कांग्रेस संसदीय दलको नेता बन्नका लागि १९ सांसदको समर्थन आवश्यक छ । अहिले तामाङसँग १६ सांसदहरु छन् । बानियाँ पक्षका सांसद सुरजचन्द्र लामिछानेका अनुसार अहिले तामाङ संसदीय दलको नेताविरुद्ध परेको अविश्वासको प्रस्ताव फेस गर्ने तयारीमा छन् । ‘म फेस गर्छु त भनिरहनुभएको छ । फेस गर्ने प्रक्रिया के हो त ?’ प्रश्न गर्दै उनले भने ।

नेता लामिछानेका अनुसार अहिले मुख्यमन्त्री तामाङले पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेट्न मानिरहेका छैनन् । उनी अहिले भागीभागी हिँडेको नेता लामिछानेले बताए । ‘पार्टी सभापतिले बोलाउँदासमेत उहाँ नगइरहनुभएको अवस्थाले, उहाँ भागिरहेको अवस्थाले पनि यो कुराको पुष्टि गर्छ,’– उनले भने ।