विद्या भण्डारीको प्रेस मिटमा जाँदा कारबाहीमा परेँः युवान्तिका कुलुङ


काठमाडौं, ११ साउन । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेरे चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो ।

‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका मलाई ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैले स्पष्टीकरण दिइसकेको थिएँ । मलाई कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो । मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्र हत्या गर्न खोजेकै हो,’– रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् ।

उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिईन् । पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ । उनले आफूमाथि विभिन्न आर्थिक चलखेलको आरोपसमेत लगाइएको बताउँदै यसलाई प्रमाणित गरेर देखाउन चुनौति दिईन् ।

‘उहाँहरुले मेरो चरित्र हत्या गर्नका लागि यो विषयलाई तोडमोड गरेर आर्थिक चलखेल गर्यो भन्ने कुरासँग जोडेर उहाँहरुले धेरै प्रोपोगाण्डा अपनाउनु भएको छ । मैले उहाँहरुलाई यो सम्म भनेको छु कि मेरो खातामा यदि कसैको थ्रुबाट पैसा आएको या मलाई कागज गरेर कसैले कुनै पैसा दिएको उहाँहरुले प्रमाण पुर्यादिनुपर्यो,’– उनले भनिन् ।

उनले षड्यन्त्र गरेर आफ्नो राजनीति सकाउने प्रयास गरिएको बताईन् ।