काठमाडौ, १२ साउन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आइतबार साँझ एक कार्यक्रमबीच कोष र बारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल बारजस्तो गरिमामय संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु ‘विश्वासको सम्झौता’ भएको बताए ।
बिहानदेखि बेलुकासम्म काम गर्दा अवकाशपछि केही पनि नपाउने अवस्थाको अन्त्य गर्न यो कोषको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय श्रम संगठनले हाम्रो यस प्रयासलाई खाडी मुलुकहरूमा रोल मोडेलको रूपमा अघि बढाउने तयारी गरिरहेको छ। यो हाम्रो लागि गौरवको बिषय हो, उनले भने ।
मन्त्री भण्डारीले कोषमा आबद्ध सङ्ख्या २४ लाख नजिक पुगिसकेको जनाउँदै यो आफैँमा ठूलो सन्देश सहित अभियान सफलताको बाटोमा अघि बढेको बताए ।
सामाजिक सुरक्षा कोषका निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षाका अग्रदूत संस्था नेपाल बार एसोसिएशनसँगको सहकार्यले गौरवको अनुभूति गराएको बताए ।
नेपाल बार एसोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले देशको बैङ्किङ प्रणाली, कर्मचारी सञ्चय कोष र बीमा प्रणाली जस्तै सामाजिक सुरक्षा कोष पनि सफलतापूर्वक सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे । उनले सेवानिवृत्तिपछि लाभदायक हुने गरी कोषमा आबद्ध हुनु बुद्धिमानी हुने बताए ।
महान्यायाधिवक्ता रमेश बडलले समस्या परेपछि मात्र होइन, आम्दानीको निरन्तरता गुम्दा सामाजिक सुरक्षा कोषले राहत दिन सक्ने बताए।
श्रम मन्त्रालयका उपसचिव प्रदीप कोइरालाले ६५ प्रतिशत श्रमिकहरू अझै अनौपचारिक क्षेत्रमै रहेको उल्लेख गर्दै, कोषमार्फत तिनीहरूलाई औपचारिक बनाउँदै सामाजिक सुरक्षामा समावेश गर्न सकिने बताए।




प्रतिक्रिया