देउवाको पक्षमा शतप्रतिशत मत छ, संसदीय दलको नेता फेर्न असम्भवः कांग्रेस नेता खड्का


काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले पार्टी संसदीय दलको नेता फेर्न असम्भव रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा संसदीय दलका शतप्रतिशत मत रहेको बताए । माओवादी वा कुनै प्रतिपक्षी दलले चाहँदैमा संसदीय दलको नेता परिवर्तन नहुने उनले बताए । सभापति देउवा निर्वाचित भएर आएको स्मरण गराउँदै उनले पूर्ण कार्यकाल देउवाकै नेतृत्वमा संसदीय दल अगाडि बढ्ने बताए ।

‘माओवादीले विपक्षमा भएका कुनै पनि पार्टीले नेपाली कांग्रेसको दलको नेता फेर्दिने भन्ने कुरा हुन्छ ? यस्तो हावादारी कुरा गर्न हुन्छ । त्यो असम्भव छ । हामीकहाँ छलफल हुन्छ, विवाद हुन्छ, निर्णय भएपछि कार्यान्वयन हुन्छ । त्यो असम्भव हो । अहिले सभापतिज्यूको पक्षमा शतप्रतिशत मत छ,’– उनले भने ।

साथै, उनले मधेशमा देखिएको पानीको अभाव परिपूर्तिका लागि काम भइरहेको उनको भनाइ छ । उनले भने, ‘यस वर्ष पानी कम परेर खडेरी भइसकेपछि हामीहरुले टोली गठन गर्यौं । कहाँ के अवस्था छ भनेर रिपोर्ट तयार गर्यौं । मन्त्रिपरिषद्ले त्यसलाई विपद् घोषणा गरेको छ । हामीहरुले फेरि सरोकारवाला मन्त्रालय खानेपानी मन्त्रालय, सिचाईँ मन्त्रालयले कहाँ कहाँ खानेपानी र सिचाईँको अभाव भयो भनेर सिचाईँ मन्त्रालयको सहसचिवको नेतृत्वमा कमिटी गठन गरेर अहिले हामीले काम सुरु गरेका छौं ।’