काठमाडौं, १२ साउन । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले नेपालभर कहीँ पनि लोडसेडिङ नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले चितवनमा लोडसेडिङ सुरु भएको भनेर एउटा समूहले अफवाह फैलाएको बताएका हुन् । मन्त्री खड्काले अहिले लोडसेडिङको अफवाह फैलाउन एउटा समूह नै सक्रिय रहेको बताए ।
‘यो गलत कुरा हो । एउटा समूह यसरी लागेको छ । लोडसेडिङ भन्न पायो भने, आतङ्क फैलाउन पायो भने खुसी हुने समूह छ । त्यो समूहको क्रियाकलाप हो । पटक–पटक भन्दै आएको छु– अहिले हामीसँग प्रशस्त विद्युत छ । कहीँकहीँ निर्माण गर्ने क्रममा केही समय लाग्ने, काहीँ ड्राइभर्ट गर्नुपर्ने त्यस्तो हरेक समय हुन्छ । ट्रान्सफर्मर पड्किने, तार बिग्रिने, हावाहुरी र चट्याङका कारण विद्युत अवरुद्ध हुने यो सामान्य प्रक्रिया हो । विगतमा वर्षमा साढे सात सय घण्टाभन्दा बढी भएको पाइन्छ । यो वर्ष घटेर ६ सय घण्टाभन्दा कम भएको छ,’– उनले भने ।
साथै, नियोजित ढंगले लोडसेडिङभन्दा खुसी हुने समूहले अफवाह फैलाइरहेको बताए । नेपाललाई चाहिने विद्युत अहिले प्रशस्त मात्रमा उत्पादन भइरहेको र विदेशमा विक्रीसमेत भइरहेको उनले बताए । ‘त्यो लोडसेडिङ होइन । हामीसँग विद्युत बढी भएर विक्री गरिराखेका छौं अहिले । अनि लोडसेडिङ हुने कुरा नै भएन नि । यो अफवाह फैलाइएको छ । यस्ताको पछाडि नलाग्न र नपत्याउन म आग्रह गर्न चाहन्छु ।’




प्रतिक्रिया