काठमाडौं, १२ साउन । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले राजनीतिज्ञहरु जोडिएको मुद्दा अनुसन्धानका लागि नेपाल प्रहरीलाई सरकारले साथ नदिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सामाजिक विषयहरुमा प्रहरीले उत्कृष्ट कार्य गरे पनि अहिले राजनीतिज्ञहरु जोडिएको मुद्दा थुप्रै पेन्डिङ भइरहेको बताएका हुन् ।
‘सरकारले साथ दिएन भने, सत्तामा भएका राजनीतिक दलले साथ दिएनन् भने प्रहरीको अनुसन्धान अगाडि बढ्दैन र प्रहरीले अनुसन्धान पनि गर्न सक्दैन । थुप्रै अनुसन्धानहरु अहिले पेन्डिङ भइरहेका छन् राजनीतिज्ञहरु जोडिएको,’– उनले भने ।
साथै, उनले प्रधानमन्त्री जाने स्पेनका कार्यक्रममा १०/१२ जना नेपालीहरु भिजिट भिसामा गएको बताए । भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउनका लागि दलालहरुले भारतको पहाडगञ्ज भन्ने ठाउँमा हजारौं नेपालीहरु लगेर राखेको उनको दाबी छ ।
‘पहाडगञ्जका गेस्ट हाउसहरु नेपालीले भरिएको हुन्छ । अहिले झन संख्या बढ्दै गइरहेको छ । अहिले लेटेस्ट कुरा गर्ने हो भने अस्तिको स्पेनवाला जुन घटना छ । त्यो बेला १०/१२ जना गए । ५०/५५ जनाको भिसा क्यान्सिल भयो र सयौं मान्छेहरु होटलमा थन्काएर राखिएका थिए । अहिले पनि त्यहाँ हजारौं मान्छेहरु छन् । भिजिट भिसा अहिले नेपालमा सामसुम हुनेवित्तिकै भारततिर सर्छ नै,’– उनले भने ।




प्रतिक्रिया