किरात स्वायत्तता जनअभियानले विचार विमर्श कार्यक्रम आयोजना गरी मनायो तेस्रो वार्षिकोत्सव


काठमाडौं, १२ साउन । किरात स्वायत्तता जनअभियानले विचार विमर्श कार्यक्रम आयोजना गरी तेस्रो स्थापना दिवस मनाएको छ । जनअभियानले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा साक्षत्कार कार्यक्रम गरी तेस्रो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा अधिवक्ता चण्डीराज राई, डा.धनप्रसाद सुवेदी, किरात राई यायोक्खा केन्द्रीय महासचिव भीमराज राई, १ नं. प्रदेश पुन नामाङ्कन अभियानका उपाध्यक्ष दङ्गध्वज खोयाहाङ लिम्बुलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

साक्षत्कार कार्यक्रममा वक्ताहरुले किरातहरुको इतिहास, भूगोललगायतको विषयमा धारणा राखेका थिए । उनीहरुले पहिचान पक्षधरहरुको माग सम्बोधन गरिनुपर्ने र संविधानमा उल्लेख गरिएका कुराहरुलाई सुनिश्चित गरिनुपर्ने बताएका थिए ।

जनअभियानका केन्द्रीय सदस्य प्रेम कुमार राईले दिग्गज व्यक्तित्वहरुसँग छलफल र परामर्श भइरहेको बताए । उनले भने, ‘अहिले हामी हाम्रो भूगोल र पहिचानको लागि, १ नं. प्रदेश पुनः नामाङ्कनको विषयमा विशेष काम गरिरहेको छ । हाम्रो हक अधिकारको निमित्त विभिन्न व्यक्तिहरुसँग छलफल र बहस गरिरहेको छ ।’

किरात स्वयत्तता जनअभियानका संयोजक नगेन्द्र किरातीले नेपालको संविधानले उत्पीडित, उपेक्षित समुदायको माग सम्बोधन गर्न नसकेको बताए । विविध जाति, भाषा, विधि धर्म, संस्कृति भएको मुलुकमा आफ्नो समुदायको अधिकारहरु र पहिचान स्थापित भएको संविधान जारी हुनुपर्छ भन्ने आफूहरुको माग रहेको बताए ।

‘२०७२ को संविधानमा पहिचानसहितको संघीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, धर्मनिरपेक्षता जस्ता आधारभूत विषयहरु प्राप्त गर्न सक्छौं भन्ने कुरा हामीलाई लागेको थियो । त्यो हुन सकेन । प्रदेशको नामाङ्कन गर्ने सन्दर्भमा अन्तिम समयमा २०७९ फागुन १७ गतेका दिन किरात प्रदेशमा त्यहाँको सभ्यता, पहिचान र मनोविज्ञानलाई कुल्चिँदै कोशी नामाङ्कन गरियो,’– उनले भने ।

१ नम्बर प्रदेशलाई किरात प्रदेश र त्यहाँ उत्पीडित किरातीहरुको स्वयत्तता स्थापना गर्ने, मुलुकको समृद्धि, सुशासन र सामाजिक न्याय स्थापना गर्ने जनअभियानको लक्ष्य रहेको पनि उनले बताए ।