काठमाडौं, १३ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आजको संसदीय दलका बैठकमा संसदीय दलका नेता बहादुरसिंह लामा तामाङमाथि ल्याइएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।
बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसी पनि उपस्थित भएका छन् । बैठकको सुरुमा नै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा पठाइएको पत्र पढेर सुनाइएको थियो । त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पढेर सुनाइएको थियो ।
बैठकमा छलफल भएर आज नै प्रस्तावको पक्ष र विपक्षमा मतविभाजन एवं सनाखत हुने बताइएको छ । ईन्द्र बानियाँ पक्षधर २१ सांसदले मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता मुख्यमन्त्री हुनेछ ।
कूल ११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ सांसदहरु रहेका छन् । ३७ सांसदमध्ये २२ जनाले आफूलाई बानियाँको पक्षमा उभ्याएका छन् । संसदीय दलका तामाङले बहुमत नपाउने निश्चितप्रायः भएको बताइएको छ । संसदीय दलमा बुहमत पाउन नसकेको खण्डमा तामाङले पार्टीको विधानअनुसार मुख्यमन्त्रीबाट राजीनमा दिनुपर्ने हुन्छ ।




प्रतिक्रिया