काठमाडौं, १४ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले नेकपा (माओवादी केन्द्र) वा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता भएको खण्डमा पनि अचम्म मान्न नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी, नेकपा लगायतका दलहरुसित एकीकृत समाजवादीले अहिले विभिन्न रणनीतिहरु बनाइरहेको बताए । तर, आजकै दिनमा नेपालका कम्युनिष्टहरु मिल्ने अवस्था भने नरहेको उनको भनाइ छ ।
‘तपाईँको पार्टी र माओवादी केन्द्रबीच एकता हुन लागेको हो ? प्रचण्ड र माधव नेपालको बीचमा वार्ता भइरहेको छ’ भन्ने जिज्ञासामा उनले भने, ‘राजनीतिक दलहरु आ–आफ्नो रणनीतिअनुसार कहिले एक्लाएक्लै, कहिले संयुक्त रुपबाट, कहिले मिलेर, कहिले फुटेर यी राजनीतिक पार्टीको बीचमा समय क्रममा हुने घटनाक्रम हुन् । त्यहीअन्तर्गत विप्लवसँग पनि वार्ता भइरहेको छ । यो नियमित प्रक्रिया हो । भयो भने पनि आश्चर्य मान्न परेन । नभए भने पनि आश्चर्य मान्नु परेन ।’
साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताए । प्रधानमन्त्री ओलीले झुट बोल्दै हिँडेको, तुच्छ गालीगलौज गर्दै हिँडेको र घुस काण्डमा मुछिएका मन्त्रीहरुलाई कारबाही त परको कुरा सोधपुछसमेत नगरेको उनले बताए । प्रधानमन्त्री ओलीले अरुले गरेको कामलाई पनि मैले गरेको भनेर प्रचार गरेको, १०औं वर्ष अगाडि सञ्चालनमा आइसकेको पुलसमेत उद्घाटन गर्दै हिँडेको उनले बताए । सरकारको काम कारबाहीबाट समाजमा चरम निराशा बढेको उनले बताए ।
‘कुन चाहिँ सेक्टर खुसी हुन सक्ने स्थितिमा छ ? सबै फटाह, झुट बोल्ने भन्दा छैन । प्रत्येक मन्त्री भ्रष्टाचारमा गाँसिएको भन्दा छैन । प्रधानमन्त्री झुट बोल्ने भन्दा छैन । तुच्छ गालीगलौजको राजनीति गर्नेभन्दा प्रधानमन्त्रीको ड्यूटी नै छैन । सब डामाडोल छ, झुठो तथ्याङ्कहरु ल्याएर देखाएको छ । अर्काले गरेको कामहरु मैले गरेको भनेको छ । हुँदै नहुने कामहरु गएर शिलान्यास गर्दिएको छ । १०औं वर्ष अगाडि सञ्चालन भएका पुल आज गएर उद्घाटन गर्दिएको छ । भ्रष्टाचारमा मुछिएका मन्त्रीहरुलाई सोधपुछ गर्ने, कारबाही गर्ने, निष्काशन गर्ने भन्ने छैन । समाजमा चरम निराशा छ । यस्तो बेलामा खाली व्यङ्ग हानेर, तुच्छ बोली बोलेर, छड्के हानेर, टालटुल गरेर सत्ता चलाएर के गर्ने ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले आफूहरु बलात्कारी, भ्रष्टाचारी, हत्यारा, मानव बेचविखनलगायतमा दोषी ठहर भएकाहरुलाई आम माफी दिने कानुनको विरुद्धमा रहेको बताए । उनले राणा शासनको बेलामासमेत यस्ता प्रकारका अपराधमा उन्मुक्ति दिन नमिल्ने कानून रहेको उनले बताए । ‘राणा कालदेखि नै यस्ता जघन्य अपराधमा माफी दिन पाइँदैन भन्ने थियो । यो त अहिलेका कुरा होइन । बलात्कार, नक्कली मुद्रा, मानव बेचबिखनजस्ता कुराहरुमा हुँदैन । यो मानवताविरोधी अपराध हुन् । यस्तलाई कडा सजाय दिनुपर्छ । प्रजातन्त्रको कानून, गणतन्त्रको कानून सबैले मान्यता स्थापित गर्दै आएका छन् । अहिले आएर भताभुङ्ग देशको लथालिङ्ग चाला भनेको जस्तो कहाँबाट पैसा आउँछ भन्ने हिसाबबाट नाजायज चलखेल भइराखेको छ । यसमा हामीले विरोध गर्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया