काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनालले पार्टीभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि विकल्प हुनुपर्ने बताएका छन् । निर्विकल्प केही नहुने बताउँदै उनले अहिले प्रचण्डको विकल्प खोज्ने बेला भने नभएको प्रष्ट पारे । उनले प्रचण्डलाई नेपालमा अहिले रहेका नेताहरुमध्ये सबैभन्दा सुझबुझका साथ काम गर्ने नेताको रुपमा चित्रण गरे । प्रचण्ड अहिले शारीरिक र बौद्धिक दुवै हिसाबले सक्षम रहेको बताउँदै उनले अहिले विकल्प खोज्नुपर्ने आवश्यकता नरहेको दाबी गरे ।
‘विकल्प सबैको छ । माओवादीभित्र प्रचण्डको पनि विकल्प हुनुपर्छ । कुरा के हो भने अहिले समय भयो कि भएन भनेर हेर्दा नेपालको सन्दर्भमा अहिले देखापरेका सबै नेताहरुमध्ये मलाई लाग्छ अलिकति सुझबुझका साथ काम गर्ने प्रचण्ड नै हुनुहुन्छ । हाम्रो पार्टीभित्र अहिले उहाँ शारीरिक हिसाबले, बौद्धिक हिसाबले ऐतिहासिकताको हिसाबले उहाँ सक्षम हुनुहुन्छ । समस्या हल गरिरहनुभएको छ । अहिले नेतृत्वको बारेमा बोल्नुपर्ने स्थिति माओवादीभित्र होइन,’– उनले भने ।
माओवादी सचिव खनाले पार्टी उपमहासचिव जनार्दन शर्माले अगाडि सारेका विषयहरुमा पनि बहस हुँदै जानुपर्ने बताए । उनले समय आएपछि नेतृत्व परिवर्तन हुने तर अहिले त्यसको आवश्यकता नरहेको दाबी गरे । ‘अहिले माओवादीभित्र नेतृत्व परिवर्तन विलकूल हुँदैन । उहाँ (जनार्दन) ले उठाएको कुरालाई एकदम सम्मान छ । बहस चल्दै जान्छ । समय आउँदा परिवर्तन पनि हुन्छ । माओवादी पार्टीभित्र अहिले नेतृत्व परिवर्तन हुँदैन,’– उनले भने ।




प्रतिक्रिया