मुख्यमन्त्री तामाङलाई बानियाँको सुझावः हठ त्यागेर मार्ग प्रशस्त गर्नुस्


काठमाडौं, १६ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई हठ त्यागेर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । आज (शुक्रबार) विहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बानियाँले मुख्यमन्त्री तामाङलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका हुन् ।

‘उहाँ (बहादुरसिंह) ले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ,’ बानियाँले भने ।

बानियाँको नेतृत्वमा २१ सांसदहरुले तत्कालीन संसदीय दलका नेता तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्ताव पारित भएसँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका थिए । तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि भएको निर्वाचनमा बानियाँ निर्वाचित भएका थिए । कांग्रेसका कूल ३७ सांसदमध्ये २२ जनाले बानियाँको पक्षमा मतदान गरेका थिए भने १४ जनाले तामाङलाई मतदान गरेका थिए । एक मत भने बदर भएको थियो ।