गगन थापाको निर्देशन : टोलदेखि गाउँसम्म हुने सम्मान कार्यक्रम बन्द गरौँ


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता तथा कार्यकर्तालाई पटक–पटक सम्मान ग्रहण गर्ने औपचारिक कार्यक्रम बन्द गर्न निर्देशन दिएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथपछि सम्बोधन गर्दै थापाले पार्टीका विभिन्न तहमा आयोजना हुने सम्मान तथा शुभकामना आदानप्रदानका कार्यक्रमलाई व्यवस्थित र समुदायमुखी बनाउनुपर्ने बताए ।

उनले टोल, वडा, क्षेत्र र गाउँमा छुट्टाछुट्टै सम्मान कार्यक्रम आयोजना गर्ने परम्परा अन्त्य गर्नुपर्नेमा जोड दिए । जिम्मेवारी ग्रहण गरेपछि पटक–पटक सम्मानका लागि कार्यक्रम गरिरहनु आवश्यक नरहेको उनको भनाइ थियो ।

थापाले चाडपर्वका अवसरमा पार्टी कमिटीहरूले आयोजना गर्ने शुभकामना आदानप्रदानका कार्यक्रम समुदायसँग जोडिनुपर्ने बताए ।