काठमाडौं । आज प्रथम राष्ट्रिय कोदो दिवस । कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले कोदोको माग बढ्दै गएकाले उत्पादन बढाउन कृषकहरुलाई आह्वान गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले कोदोको उत्पादन र विक्रि वितरणलाई सरकारले पनि उच्च प्राथमिकता दिनथालेको बताए । कोदोलाई विगतमा गरिबले खाने खानाको रुपमा हेरिए पनि अहिले भने ठूला–ठूला रेस्टुरेन्ट तथा होटलहरुमा खोजी हुने गरेको उनले बताए । कोदोको उत्पादन गर्ने कृषकहरुलाई विशेष सहुलियतको व्यवस्था गर्न लागिएकाले बजारको चिन्ता नगरी ढुक्कसँग कोदोको खेती गर्न पनि उनले कृषकहरुलाई आह्वान गरे । प्रस्तुत छ कोदोको उत्पादन, यसको विशेषता र प्रयोगबारे कृषि विभागका महानिर्देशक सन्जेलसँग गरिएको संवादको सम्पादित अंशः
हामीले कोदो दिवस मनाउनुको मूल उद्देश्य के हो ? यसकारण र आधार बताउनुस् त ?
-यो साना किसानका लागि आयआर्जनको महत्वपूर्ण स्रोत हो । यसको औषधीय गुण छ, पौष्टिक गुणहरु छ । यसमा प्रोटिन, कार्बोहाइडेड, रेसा, पोटासियम, म्याग्नेसियम र जिङ्कको खानी हो, एण्टीअक्सिडेन्ट लगाएका गुणहरु पाइन्छन् । यो खाद्य र पोषण सुरक्षाका लागि, साना किसानका लागि एकदमै महत्वपूर्ण बाली हो । दीगो विकास गर्नका लागि यो जलवायुमैत्री छ । के कारणले गर्दा यसलार्य राष्ट्रिय दिवस मनाउन पर्यो भन्ने सन्दर्भमा चाहिँ यसको औषधीय गुण, पौष्टिक गुण र जलवायुमैत्री, साना किसानहरुको लागि चाहिँ अत्यन्त उपयुक्त, कम पानीमा खेती गर्न सकिने बाली भएकाले यो अत्यन्त महत्वपूर्ण बाली हो । यो रणनीतिक बालीको रुपमा लिएर यसलाई नेपाल सरकारले राष्ट्रिय दिवस मनाउन लागेको हो ।
कोदोको उत्पादन बढाउने उद्देश्यले विभागले अहिलेसम्म के कस्ता नीति तथा कार्यक्रम सञ्चालन गरेको छ ?
-बाँझो जमिनमा गर्न सकिने, कम सिचाईँ हुने क्षेत्रमा गर्न सकिने ६० मिटरदेखि लिएर ३६५० मिटरसम्म यसको खेती गर्न सकिन्छ ? यो महत्वपूर्ण बाली हो । यो रैथाने बाली भएकाले उल्लेख्य मात्रामा विभिन्न मुलुकबाट आयत भइराखेको छ । त्यसलाई प्रतिस्थापना गर्नका लागि, कम लगानीमा महत्वपूर्ण पाइदा लिन सकिने बाली भएको हुनाले कृषि विभागले कोदोको प्रवर्धन गर्नकै लागि भनेर छुट्टै नीति नभए पनि अहिले हामीले तर्जुमा गर्दै गरेको कृषि नीतिमा कोदोजन्य बालीसहित अन्य रैथाने बालीहरुको प्रवर्धनको लागि विशेष कार्यक्रमहरु प्रस्ताव गरिएको छ । अहिले पनि तीनै तहको सरकारको संयोजनमा कोदोजन्य बालीहरुको प्रबर्धनको लागि, जैविक विविधता संरक्षणको लागि पनि नेपाल कृषि अनुसन्धान परिषद्बाट ११ सय वटा विभिन्न रैथाने प्रजातीहरु दर्ता भएको छ । मुख्य कुरा यसको औषधीय र पौष्टिक गुणहरु छ । यसको उपभोगको फाइदाको बारेमा आम उपभोक्तालाई प्रभावबारे बुझाउन नसकेको अवस्था अहिले कृषि विभाग त्यसमा केन्द्रीत छ । यो वर्षको प्रथम कोदो दिवसको नारा पनि कोदोजन्य परिकारको उपयोगमा नै जोड गरिएको छ । खाद्य सुरक्षा र स्वस्थ्य जीवनको आधार भनेका छौं । अहिले कृषि नीतिमा कोदोजन्य बालीहरुको प्रबर्धनको प्रस्ताव गरिएको छ । स्वस्थ्य जीवन र खाद्य सुरक्षा प्रवर्धन गर्नका लागि कृषि विभागले तीनै तहको सरकारको समन्वयमा विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।
कोदोको उत्पादनमा हामी कुन अवस्थामा छौं ? यो के–केमा प्रयोग हुन्छ ?
-पछिल्लो तथ्याङ्क हेर्ने हो भने आठ वटा बालीहरुलाई हामीले कोदोजन्य बाली भन्छौं । यसको चाहिँ देशभर २ लाख २५ हजार हेक्टर हाराहारीमा यसका खेती भइरहेको छ । यसको उत्पादन कम छ । उत्पादकत्व १.३३ मेट्रिक टन प्रतिहेक्टरमात्रै छ । सरदर देशभरीमा ३ लाख मेट्रिक टनको हाराहारीमा यो कोदोजन्य बालीहरु उत्पादन भएको अवस्था छ । यो अत्यन्त न्यून उत्पादकत्व हो । यसबाट के के बन्छ त भन्दोखेरी कोदो बहुआयमिक बाली हो । यसका रोटी, ढिंडो, सातुजस्ता परम्परागत खानाको सट्टा अहिले यसको विविधीकरण पनि भएको छ । विविधीकरण भएर केही पाउरोटी, चाउमिन, कुकिज, दुनोटजस्ता आधुनिक परिकारहरुको विविधीकरण भएको छ ।
हाम्रो देशमा कोदो कहाँ–कहाँ बढी उत्पादन हुन्छ ?
-यो मुलुकभर नै उत्पादन हुन्छ । अलिकता बढी पहाडी जिल्लाहरुमा उत्पादन हुन्छ । तराइमा पनि अहिले विकल्प बाली हुन्छ भनेर पनि यसको अध्ययन भइरहेको छ ।




प्रतिक्रिया