काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह(बालेन)ले काठमाडौंस्थित थापाथली खोला–नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
उनले बुधबार नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रधानमन्त्री कार्यालय बोलाएर यस्तो निर्देशन दिएको हो । स्रोतका अनुसार आउँदो शनिबार र आइतबारभित्र सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्र्देशन दिइएको छ ।
प्रधानमन्त्री बालेनले अहिलेलाई सुकुम्बासी बस्ती खाली गराएर उनीहरूलाई लजमा लगेर राख्ने र खर्च काठमाडौं महानगरपालिकाले बेहोर्नेुपर्ने बताएका छन् । स्रोतका अनुसार लजमा लगेर खानपिन र बसोबासको बन्दोबस्त गरेपछि त्यहीँ नै उनीहरूको अभिलेख संकलन र प्रमाणीकरणको काम गर्ने प्रधानमन्त्रीको योजना छ।
स्रोतका अनुसार यो निर्देशन कार्यान्वयन निम्ति प्रहरीले महानगरसँग नगर प्रहरी, डोजर लगायतका स्रोतसाधन माग गरेको छ। शुक्रबारदेखि नै सुकुम्बासी बस्तीमा गएर माइकिङ गर्न पनि आग्रह गरिएको छ।
सुकुम्बासी बस्ती खाली गराउने कुरा आफ्नो जानकारीमा आएको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बताइन् । उनले यसबारे थापाथली क्षेत्रमा पर्ने ११ नम्बर वडाका वडाध्यक्षसहित ६ नम्बर वडाध्यक्ष, १७ नम्बर वडाध्यक्ष, ३२ नम्बर वडाध्यक्ष सहित महानगर प्रहरी प्रमुख विष्णु जोशीसँग छलफल गरिरहेकि जानकारी दिइन्।




प्रतिक्रिया