यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ, १६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताएका छन् । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४ टिकटका आवरणमा टाँचा प्रदान गरेपछि सञ्चारमन्त्री गुरुङले यस्तो जानकारी दिएका हुन् । हुलाक सेवा विभागले अहिलेसम्म जनकशिक्षा सामग्रीद्वारा टिकट प्रकाशन गर्दै आएको भए पनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको उनले बताए ।

बैंकको नोटबाहेक अरु आवश्यक राष्ट्रिय कागजात मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले प्रकाशन गर्ने सञ्चारमन्त्री गुरुङले बताए । उनले कार्यक्रममा हुलाक टिकटमार्फत मुलुकको कला, संस्कृति, इतिहास र रैथाने परम्परा तथा बालीनाली संरक्षण जरुरी रहेको बताए ।

विभागले ल्याएको नयाँ टिकटमा नेपालका जात्राअन्तर्गत विस्केट, हाँडीगाउँ, गाईजात्रा, मन्दिरमा बालकुमारी मन्दिर (ठेचो ललितपुर) , सप्त देवल (दैलेख), कोटदेवि मन्दिर (चाँगुनारायण, भक्तपुर), भीमसेन मन्दिर (गोरखा), बैतेश्वर महादेव मन्दिर (दोलखा), नेपालका प्राचीन प्रस्तर मूर्तिअन्तर्गत भगवान् विष्णु कौडेना सर्लाही, बाह्रौं÷तेह्रौँ शताब्दी र श्रीस्वस्थानीको प्रस्तर मूर्ति काठमाडौँ, त्यसैगरी, नेपालका शिक्षाविद्अन्तर्गत ई कुलरत्न तुलाधर, शङ्करदेव पन्त र पं ऋषिराम पन्थी गरी १४ टिकट रहेका छन् ।

कार्यक्रममा विभागले प्रकाशनमा ल्याएको पुस्तक नेपाल हुलाक टिकट (विसं १९३५–२०८२) पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा हुलाक घर नाम भएदेखि सुरु गरिएको १९३५ सालदेखि २०८२ सालसम्म प्रकाशन भएका हुलाकका टिकटको विवरण उल्लेख छ । विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक मुलुकको इतिहास स्मरण गराउने एउटा सुन्दर दस्तावेज बन्दै आएको बताए । उनले देशविदेशमा प्रचार गर्ने र पर्यटन प्रवद्र्धनमा हुलाकको भूमिका प्रभावकारी बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिए ।