प्रचण्डलाई माओवादी विभाजनको डर, अपराधीहरुले लगानी गरिराखेको खुलासा


काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ हजारको नाममा माओवादीलाई बदनाम गर्ने प्रयत्न भइनैरहेको बताएका छन् । आज (आइतबार) बोत्ले स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रक्रियावादी, जाली, फटाहाहरुले माओवादीलाई बदनाम गराउने प्रयत्न गरिराखेको बताएका हुन् ।

‘प्रतिक्रियावादीहरु, जाली फटाहाहरुले यसको महत्ता, यसको महानता, यसको कीर्तिलाई अपमानित गर्ने, अबमूल्यन गर्ने निकै ठूलो कसरत गरिराखेकै छन् । हिजो जनतामा भ्रम छर्ने, क्रान्तिकारीहरुलाई घेरा हाल्ने र निर्मम र निसंश तरिकाले हत्या गर्ने, महिलाहरुमाथि चरम यातना र बलात्कारका विभिषिखाहरु खडा गर्ने तत्त्वहरुले अघि यहाँ कमरेडहरुले भनेको जस्तै हामीलाई अहिले पनि बदनाम गर्ने कसरत गरिरनै राखेका छन् । १७ हजार तपाईँ हामीले सुन्ने गर्दछौं,’– उनले भने ।

साथै, केन्द्रीय समितिको बैठकले माओवादीले सहिदहरुप्रति गर्नुपर्ने सम्मान, सहिद परिवारका दुःख पीडा बुझ्ने कुरा र आफ्नो वर्ग समूदायको मुद्दामा कमजोरी भयो भन्ने समीक्षा गरिएको उनले बताए । त्यही समीक्षाको आधारमा सहिद, बेपत्ताहरुको परिवारसँग जोडिने र विचार र वर्गतिर फर्किने प्रयत्न भइरहेको उनले बताए ।

साथै, उनले सबै माओवादी धाराहरुलाई एकतावद्ध गर्ने प्रयास आफूले गरिराखेको पनि उनले बताए । तर केही अपराधीहरुले शान्ति सम्झौतापछि देखि नै माओवादी आन्दोलनलाई सक्ने, विभाजन गर्ने जस्ता काममा अनेक जालझेल, षड्यन्त्र र लगानी गरेको उनले बताए ।

‘अपराधीहरुले फेरि हाम्रो आन्दोलनलाई सक्ने, हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नका लागि अनेक षड्यन्त्रहरु गर्ने, जालझेलहरु गर्ने, लगानी गर्ने तमाम काम गर्दै आएका छन् । जतिबेला हामी शान्ति सम्झौतामा आयौं, त्यतिबेलादेखि नै,’– उनले भने ।