पर्वत, २० साउन । पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सातवटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा चार करोड ११ लाख बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो ।
जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भक्तजन तथा पर्यटकको थप आकर्षणका लागि पूर्वाधार थप गर्न थालिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढी २९ वटा आयोजना थपिने कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए ।
उनका अनुसार फलेबास नगरपालिकामा २६, मोदी गाउँपालिकामा १३, जलजला गाउँपलिकामा पाँच, पैँयु गाउँपालिकामा १७, विहादी गाउँपालिकामा ११ र बाँकी महाशिला गाउँपालिकामा आयोजना कार्यान्वयन गर्न थालिएको हो ।
पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रङरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माण, घरबास सुधारलगायत संरचना बनाइने भएको प्रमुख शर्माले बताए । पछिल्लो समय शाहसिक पर्यटनको केन्द्र बन्दै गएको जिल्ला सदरमुकाम कुश्मा बजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थलमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार थप गर्न लागिएको उनको भनाइ छ ।
शर्माका अनुसार कुश्मा नगरपालिकामा एक करोड ६० लाख, फलेवास नगरपालिकामा एक करोड ४० लाख, मोदीमा ६५ लाख, जलजलामा २५ लाख, पैँयु गाउँपालिकामा एक करोड, महाशिलामा ५५ लाख र विहादी गाउँपालिकामा ५५ लाख बजेट विनियोजन भएको छ । सबै आयोजना अल्पकालीन भएकाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी कार्यान्वयनको तयारी भइरहेको उनले जानकारी दिए ।
पर्वतका सातवटै पालिकामा गरी ६१ वटा घरबास सेवा सञ्चालनमा रहेका छन् भने दुई वटा निजी घरबाससमेत सञ्चालनमा रहेको कार्यालय प्रमुख शर्माले बताए । पर्यटकीय पूर्वाधारले घरबासमा आउने पर्यटकलाई सुविधा पुग्नुका साथै थप आकर्षण थप्ने विश्वास कार्यालयले लिएको छ । पछिल्ला केही वर्षयता पर्वत शाहसिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
सदरमुकाम कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी, स्विङ, विश्वकै लामो सुपरम्यान शैलीको जिपलाइन, ¥याफ्टिङ, क्यानोनिङलगायत स्थानमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य र घरबाससम्म पु¥याउनका लागि पनि नयाँ थपिने पूर्वाधारले आकर्षित गर्ने कार्यालय प्रमुख शर्माले बताए ।
जिल्लामा पर्यटकीय सिजनमा दैनिक सयौँको सङ्ख्यामा बाह्य पर्यटक र दैनिकजसो भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्यमात्रामा रहे पनि पर्यटन सूचना केन्द्र नहुँदा तथ्याङ्क राख्न समस्या भएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । जिल्लामा भित्रिने पर्यटकको वार्षिक तथ्याङ्क नहुँदा थप योजना निर्माणमा समस्या भएको कार्यालय प्रमुख शर्माले बताए । गण्डकी प्रदेश सरकारमार्फत गत आर्थिक वर्षमा ४२ वटा आयोजना कार्यान्वयन गरिएको थियो । रासस




प्रतिक्रिया