कांग्रेस-एमाले गठबन्धन सरकारको विकल्प छैन, यसलाई अझ बलियो बनाउँदै लानुपर्छः राजनीतिज्ञ आचार्य


काठमाडौं, २३ साउन । वरिष्ठ राजनीतिज्ञ एवं पूर्वमन्त्री निलम्बर आचार्यले कांग्रेस–एमाले गठबन्धन सरकारको विकल्प नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेको सहकार्यलाई अझ बलियो बनाउनुपर्ने बताएका हुन् ।

‘मिल्ने प्रक्रिया अझ दरिलो बनाउनुपर्ने भयो भन्ने हो । मिल्ने प्रक्रिया अलि कमजोर भयो । संयुक्त सरकार हुनुको अर्थ संयुक्त रुपले काम पनि गर्ने, छिटोछरितो काम पनि गर्ने प्रक्रिया बस्न सकेन । कांग्रेस र एमालेले सहकार्य गर्ने कुरालाई अझ बलियो पार्नुपर्ने आवश्यकता छ,’– उनले भने ।

उनले अहिले कांग्रेस–एमाले गठबन्धन सरकारको विकल्प नै नरहेको बताए । जनताले निर्वाचनमा फालेकाहरुलाई विकल्प देखाएर नहुने उनको भनाइ छ । ‘यो संयुक्त सहकार्यबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने सोच्ने हो । सुधार गर्ने हो । बाटो यही हो । यसलाई छोडेर अर्को बाटो जानुहुन्छ भने दिनुस् न विकल्प । अहिलेको वास्तविक शक्तिहरु को छन्, हावादारी कुरा गरेर हुन्छ ? यो आयो भने हुन्छ भनेर देखाउनुस् । नभएका, जनताले निर्वाचनमा फालेकाहरुलाई विकल्प देखार त काम भएन नि,’– उनले भने ।

नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले वर्तमान गठबन्धन सरकार ढाल्नका लागि मोर्चा बनाए पनि केही समय कांग्रेस र एमालेकै राजनीतिमा वर्चस्व हुने उनले बताए । ‘कांग्रेस र एमालेलाई पन्छाउँछौं, हामी आउँछौं’ भनेर माओवादीलगायतका दलहरु जति कुदे पनि अहिले तत्कालको सम्भावना नरहेको उनले बताए ।