एप्लास्टिक एनिमिया रोगबाट पीडित युवा विश्वराज अधिकारीको योचना : बोनम्यारो ट्रान्सप्लान्टको लागि २० लाख भारू लाग्छ, मलाई नयाँ जीवन दिन सबैले सहयोग गरिदिनुहोस् (भिडिओ)


पीडित युवाकी आमाले गरिन् ऋषि धमलाको प्रशंसा, ‘उहाँ मेरो लागि भगवान हुनुभएको छ’

काठमाडौं, २५ साउन । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ का विश्वराज अधिकारी विगत ३ वर्षदेखि एप्लास्टिक एनिमिया रोगबाट पीडित छन् । हाल उनले त्रिवि शिक्षण अस्पताल महारागञ्जमा उपचार गराइराखेका छन् । विश्वराजको उपचारको क्रममा हालसम्म ७०÷७५ लाख रुपैयाँ खर्च भइसकेको उनकी आमा शान्ताकुमारी अधिकारीले बताईन् ।

आफूहरुसँग अब उपचार गराउनका लागि कुनै उपाय नरहेको र आर्थिक अभाव भएको भन्दै उनले सहयोगका लागि अपिल गरेकी छन् । ‘मेरो कान्छो छोरा विश्वरा अधिकारी तीन वर्षदेखि एप्लास्टिक एनिमिया रोग लागेको छ । ७० लाख लगभग खर्च भइसक्यो । भएको पनि सकियो,’– उनले भनिन् ।

शान्ताकुमारीले पत्रकार ऋषि धमलासँग सहयोगको लागि अपिल गरिन् । ‘आज म मेरो छोरालाई बचाईदिनुहोस ऋषि धमलाज्यू । उहाँ सबै दुःखी पीडितको आँसु पुछिदिने उहाँसँग मैले केही कुरा राख्न पाएँ । मेरो बाबुलाई बचाउनका लागि अब मेरो उपाय केही पनि छैन,’– उनले भनिन् । उनले ऋषि धमलाले यसअघिपनि सहयोगको लागि अपिल गरिदिएको भन्दै विशेष आभार व्यक्त गरिन् ।

शान्ता कुमारीले टिचिङ हस्पिटलको डाक्टर अन्जन श्रेष्ठको भनाइअनुसार आफ्नो छोरा विश्वराजको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताईन् । त्यसको लागि भारत लैजानुपर्ने र अनुमानित नेपाली रुपैयाँ ३२ लाख लाग्ने पनि उनले बताईन् । यसका लागि आफूसँग कुनै स्रोत नरहेको भन्दै पत्रकार धमलासँग उनले अनुनय गरिन् । ‘२० लाख भारतीय रुपैयाँ लाग्छ, भारत लानुपर्छ । अरु यसको विकल्प केही पनि छैन भन्ने भयो,’– उनले भनिन्, ‘देशभक्त, एकदमै सक्रिय पत्रकार हुनुहुन्छ ऋषि धमलाज्यू । एकदमै सक्रिय हुनुहुन्छ । मेरो बाबुलाई पक्कै पनि उहाँले आर्थिक राहत जुटाइदिनुहुनेछ । मेरो बाबुलाई बचाइदिनुस्, मसँग अर्को कुनै उपाय छैन ।’

उनले अहिले आफ्नो छोराको पिसाबबाट र नाकबाट रगत जाने भइरहेको बताईन् । विरामी विश्वराजले पनि उपचारका लागि आफूहरुसँग कुनै उपाय नरहेको भन्दै सहयोगका लागि आग्रह गरे । उनले भने, ‘मलाई एप्लास्टिक एनिमिया रोग लाग्यो । म अहिले टिचिङ हस्पिटलमा उपचार गराइरहेको छु । बोनम्यारो ट्रान्सप्लान्टको लागि २० लाख भारतीय रुपैयाँ चाहिएको छ । हामीसित अहिले पैसा सबै सकिइसक्यो । मलाई सबैले सहयोग गरेर नयाँ जीवन दिनहुन अनुरोध गर्दछु ।’

उनले आफ्नो छोराको उपचारका लागि नेपाल एसबीआई बैंकमा रहेको शान्ताकुमारी अधिकारी क्षेत्रीको खाता नं. २३४१५२४९९०१९३६ मा आफूले सकेको सहयोग गरिदिन आग्रह गरिन् । उनले थप जानकारीका लागि ९८४६७६३०९२ मा कल गरेर बुझ्न सकिने पनि बताईन् ।

साथै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष पत्रकार धमलाले विश्वराजको उपचारका लागि आर्थिक सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘मैले उहाँको छोरालाई उपचार गर्ने घोषणा गरेको छु । उहाँ आर्थिक रुपमा अत्यन्त विपन्न । उहाँको उपचारको लागि सबैखाले सहयोगको लागि म तयार छु । मैले पहल गरिरहेको छु ।’