भारतीय दूतावासले मनायो ७९औं स्वतन्त्रता दिवस


काठमाडौं, ३० साउन । नेपालस्थित् भारतीय दूतावासले आफ्नो देशको ७९औं स्वतन्त्रता दिवस मनाएको । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागीतामा आज (शुक्रबार) काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७९ औं स्वतन्त्रता दिवस मनाइएको हो ।

नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भएको र तत्पश्चात् कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले ७९ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो । आफ्नो सम्बोधनमा राष्ट्रपतिले विगत ७८ वर्षमा भारतले गरेको उल्लेखनीय प्रगतिका बारेमा चर्चा गरेकी थिईन् ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरेका थिए । उनले कुल नेरु. ६.४ करोडको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे । दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा ग¥यो । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

काठमाडौंमा आयोजित भारतको ७९ औं स्वतन्त्रता दिवसको उत्सवमा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरुका साथै दूतावासका अधिकारीहरु र उनीहरुका परिवारहरुले उत्साहजनक सहभागीता जनाएका थिए । यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीतहरुमा जीवन्त साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।