काठमाडौँ । वैदिक मन्त्रहरूले सदैव सम्पूर्ण जगत्कै शान्तिको कामना गरेको सांस्कृतिक शोधकर्ता, वरिष्ठ ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहालले बताएका छन्। ६३ दिनदेखि नाङ्गो खुट्टा पदयात्रामा रहेका डा. दाहालले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैदिक संस्कृति र विश्व शान्तिको सन्देशबारे प्रकाश पारेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै डा. दाहालले देशका प्रमुख धार्मिक तीर्थस्थलहरूको नाङ्गो खुट्टा नै पैदल यात्रा जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। विश्व शान्ति कलश र विश्व शान्ति दण्ड हातमा लिएर सुनसरीको पवित्र बराहक्षेत्र, पिण्डेश्वर धाम र दन्तकालीसहितका मठमन्दिरबाट शुरु भएको उनको पदयात्रा काठमाडौँको पाशुपत क्षेत्रसम्म पुगिसकेको र आगामी दिनमा अन्य धार्मिक स्थलहरूमा पनि यसलाई निरन्तरता दिइने उनले जानकारी दिए।
सोही अवसरमा अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त उच्च सम्मानप्रति खुसी व्यक्त गर्दै डा. दाहालले यसको सम्पूर्ण श्रेय परमेश्वर, मातापिताको आशीर्वाद र शुभचिन्तकहरूको सहयोगलाई दिए। उनले भने, ‘ॐ श्री सूक्ष्मविश्वविन्दु निराकार अखण्ड परम महागुरु, मातापिताको आशीर्वाद, यहाँहरू सबैको साथ र मेरो निरन्तर कर्मले गर्दा नै विश्व अहिंसा दिवसका दिन विश्वशान्ति सम्मान र विश्वशान्तिदूत आजीवन प्राप्त हुने अत्यन्त गौरवमय सौभाग्य मिल्यो। सम्मान प्रदान गर्ने संस्थाप्रति हार्दिक आभार प्रकट गर्दछु।’
अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीको अवसरमा भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको एमजीजीपी इन्डिया फाउन्डेसनले डा. दाहाललाई आजीवनका लागि ‘ग्लोबल पिस एम्बेसडर’ (विश्वशान्ति दूत) मनोनीत गरेको छ। विश्वशान्ति, भाइचारा र गान्धीवादी दर्शनको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै उनलाई ‘महात्मा गान्धी ग्लोबल पिस अवार्ड’बाट समेत विभूषित गरिएको हो।
फाउन्डेसनद्वारा आयोजना हुने आगामी ‘गान्धी पिस इन्टरनेसनल अवार्ड तथा पिस समिट’मा डा. दाहाललाई विशिष्ट अतिथि (गेस्ट अफ अनर) का रूपमा समेत आमन्त्रण गरिएको छ। आफ्नो निष्ठापूर्ण आध्यात्मिक पदयात्रा र अन्तर्राष्ट्रिय मान्यतामार्फत डा. दाहालले सनातन संस्कृति र नेपालको पहिचानलाई देशभित्र र देशबाहिर समेत उजागर गरिरहेका छन् ।








प्रतिक्रिया