न्यूयोर्क, ३० साउन । वेस्ट ब्याङ्क क्षेत्र कब्जा गरी निरन्तर बस्ती विस्तारको इजरायली योजनाको संयुक्त राष्ट्रसङ्घले कडा निन्दा गर्दै यस्तो कार्यले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन हुनुका साथै शान्तिलाई खतरामा पार्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले ‘पूर्वी जेरुसेलमसहित वेस्ट ब्याङ्कमा इजरायली बस्तीहरू तथा राज्य संरचनाका अवयवहरू अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै स्थापित भएको बताएका छन् ।
उनले यस्ता प्रक्रियाले तनावलाई बढावा दिई दुई–राज्यबिचको समस्या समाधान तथा प्यालेस्टिनी राज्य स्थापना गर्ने सम्भावनालाई कमजोर बनाउने बताएका छन् ।
विवादास्पद ‘इ–वन’ परियोजनाबारे प्रष्ट पार्दै प्रवक्ताले यसको निर्माणले उत्तरी वेस्ट ब्याङ्कलाई दक्षिणबाट भौतिक रूपमा अलग पार्ने तथा प्यालेस्टिनी राज्यको सम्भावनालाई क्षति पु¥याउने उल्लेख गरे ।
“महासचिवले सन् २०२४ जुलाईको अन्तर्राष्ट्रिय अदालतको सल्लाहलाई उदृत गर्दै इजरायली अधिकारीहरूलाई यो प्रक्रिया तुरुन्त रोक्न र इजरायललाई अन्तर्राष्ट्रिय कानूनद्वारा वर्जित गतिविधि रोक्न आग्रह गरे ।
संयुक्त राष्ट्रसङ्घको चिन्तालाई आत्मसाथ गर्दै युरोपेली सङ्घको विदेश नीति प्रमुख काजा कल्लासले इ–वन क्षेत्रमा नयाँ बस्तीका एकाइहरू निर्माण गर्ने इजरायलको योजनाको निन्दा गरे । रासस




प्रतिक्रिया